शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

प्रचण्डलाई खुचिङ मार्न पूर्वमाओवादीका सबैलाई ओलीको मन्त्री उपहार

प्रचण्डलाई खुचिङ मार्न पूर्वमाओवादीका सबैलाई ओलीको मन्त्री उपहार

  • मिडिया डबली
  • शनिवार, पौष ११ २०७७

  • 4.9K
    SHARES

  • प्रचण्डलाई खुचिङ मार्न पूर्वमाओवादीका सबैलाई ओलीको मन्त्री उपहार

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन्। विवादका कारण सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई भागमा विभाजित बनेपछि उनले शुक्रबार नौ मन्त्री थप गर्दै सातजनाको जिम्मेवारी हेरफेर गरेका हुन्।

    प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन्। राजनीतिक रूपमा नेकपा दुई पार्टीमा विभाजन भएपछि प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष आ–आफ्नो शक्तिसञ्चयमा जुटेका बेला तत्कालीन माओवादी केन्द्रका केही नेतालाई मन्त्रीको जिम्मेवारी दिइएको हो। २०७४ फागुन ३ गते प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका ओलीले शुक्रबार टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, गणेश ठगुन्ना, मणि थापा, दावा लामा, प्रेम आले, जुली महतो र विमला विश्वकर्मालाई मन्त्री बनाएका हुन्। थपिएका मन्त्रीमा रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, साह सहरी विकास, चौधरीले श्रम तथा रोजगार, ठगुन्नाले सामान्य प्रशासन तथा संघीय मामिला, थापाले खानेपानी तथा सरसफाइ, लामाले युवा तथा खेलकुद, आलेले वन तथा वातावरण र महतोले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ।

    रायमाझी, साह, थापा, चौधरी, तामाङ र विक तत्कालीन माओवादी केन्द्रनिकटका नेता हुन्। उनीहरू पछिल्लो समय दाहालसँग असन्तुष्ट थिए। प्रधानमन्त्री ओलीले मन्त्रीहरू हृदयेश त्रिपाठी, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फे र लीलानाथ श्रेष्ठको जिम्मेवारी हेरफेर गरेका छन्।

    त्रिपाठीलाई स्वास्थ्य तथा जनसंख्या, कृष्णगोपाललाई शिक्षा, विज्ञान तथा प्रविधि, ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्याललाई कृषि तथा पशुपक्षी, तुम्बाहाङ्फेलाई भूमिसुधार र लीलानाथलाई न्याय, कानुन तथा संसदीय मामिलाको जिम्मेवारी तोकिएको छ। नवनियुक्त मन्त्रीहरूले शुक्रबार साँझ नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

    उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८० अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णयपछि दाहाल र नेपालनिकट सात मन्त्रीले पदबाट राजीनामा दिएका थिए।

    रिक्त मन्त्रालयमा दाहाल र नेपालसँग असन्तुष्ट अधिकांश नेताहरूलाई ओलीले जिम्मेवारी दिएका छन्। यसअघि प्रधानमन्त्री ओलीले २०७४ फागुन ३, फागुन १४, २०७५ जेठ १८, साउन १८, फागुन १६ गते मन्त्रिपरिषद् हेरफेर गरेका थिए। त्यस्तै २०७६ साउन १५, मंसिर ४, फागुन ५, फागुन ८, फागुन २१ र २०७७ असोज २८ गते मन्त्रिपरिषद् थपघट तथा हेरफेर गरेका थिए। मन्त्रिपरिषद् हेरफेरलगत्तै प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नै मन्त्रिपरिषद्को बैठक राखेका छन् ।यो खबर आजको नागरिक दैनिकमा छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend