काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्ततः फुटेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले भोलि छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाइएका छन् ।
अध्यक्ष प्रचण्ड पक्षले स्थायी कमिटी बैठकबाट भोलि पुस ७ गते दिउँसो १ बजेका लागि बबरमहलको कार्की व्याङ्केटमा बैठक बोलाइएको भए पनि केपी ओली पक्षले बालुवाटारमै बिहान ९ बजे नै बैठक बोलाएको छ ।
प्रचण्ड पक्षको बैठक हुनुभन्दा ४ घण्टाअघि नै ओली पक्षको बैठक बस्ने भएको छ । केन्द्रीय सदस्यहरूलाई प्रचण्ड पक्षको बैठकका लागि केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले निमन्त्रणा पठाएका छन् भने ओली पक्षबाट सचिव ईश्वरी रिजालले निमन्त्रणाबारे जानकारी पठाएका छन् ।
मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा केन्द्रीय कमिटीको बैठक बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।
‘भोलि ९ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ,’ उनले भने । संसद विघटनपछि ओलीमाथि कारवाही गर्ने तयारी स्वरूप प्रचण्ड पक्षले केन्द्रीय कमिटी बैठक बोलाएकोमा त्यसअघि नै ओली पक्षले बैठक बोलाउँदा नेकपामा फुटपछिको अभ्यास हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।