काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कहीँ पनि उपस्थिति नरहेको बताएका छन् ।
मोरङ कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले सरकार दमनका लागि मात्र उपस्थित हुने गरेको बताए ।
उनले सरकारको दमनको सोचको विरुद्धमा देशव्यापी विरोध सभा आयोजना गरिएको बताए । कोभिड–१९ जस्तो महामारीको समयमा समेत सरकार भ्रष्टचारमा लिप्त रहेको उनले आरोप लगाएका छन् । ‘यो भ्रष्ट सरकार हो,’ उनले भने, ‘न कुनै भिजन छ न काम गर्ने शैली ।’
विराटनगरमा सोमवार भएको विरोध सभामा महामन्त्री कोइरालाले कोभिडजस्तो महामारी नियन्त्रणको दायित्व सरकारको भए पनि हात उठाएको बताएका छन् । ‘मास्क सरकारले दिनुपर्ने भए पनि तपाई–हामी आफैंले लगाएका छौं,’ उनले भने, ‘कोभिड–१९ जस्तो महामारीमा पनि सरकारले अर्बौंको भ्रष्टाचार गर्यो ।’
सरकारलाई ३ वर्ष कुनै बाधा विना काम गर्न दिए पनि काम भने गर्न नसकेको उनले बताए । कार्यक्रममा महामन्त्री कोइरालाले सम्पूर्ण ध्यान पार्टीलाई एकढिक्का बनाउनमा केन्द्रित रहेको बताए । ‘पार्टी एक भएपछि जतिसुकै माओवादी र एमाले मिलुन्, नेपाली कांग्रेसलाई हराउन सक्दैन,’ उनले भने ।
राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले सरकार भ्रष्टाचारको सबैभन्दा उचाइमा पुगेको आरोप लगाए । उनले भने, ‘अहिले सगरमाथाको उचाइ जसरी बढेको छ, त्यसरी नै सरकारको भ्रष्टाचार बढेको छ ।’
अहिलेको सरकारले गरीब, किसान कसैको पनि सम्मान गर्न नसकेको उनले जिकिर गरे । वर्तमान सरकारबाट जनताको विश्वास हटिसकेको धारणा रायमाझीको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस महासमित सदस्य सत्यनारायण भगत, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, तरुण दल विराटनगर अध्यक्ष सन्तोष न्यौपाने लगायतले धारणा राखेका थिए । नेपाली कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बूले कार्यक्रमको सभापतित्व गरेका थिए ।
यसअघि नेपाली कांग्रेसको भातृ संस्था तरुण दलले विराटनगरको तीनपैनी चोकबाट निकालेको मोटरसाइकल र्यालीले नगरको परिक्रममा गरेको थियो । नेपाली कांग्रेस मोरङले वीरेन्द्र सभागृहबाट निकालेको र्याली जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।