काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कडा निर्णय लिएपछि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चक्नाचुर भएको छ ।
प्रधानमन्त्री ओलीले सभापति देउवालाई फकाउँदै संवैधानिक परिषद्को बैठकबाट संवैधानिक आयोगका पदाधिकारीमा आफू निकट आसेपासेलाई भर्ना गर्ने सपना देखे पनि त्यसमा धक्का लाग्ने भएको छ ।
सभापति देउवाले आज आइतबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने निर्णय लिएका छन् । प्रधानमन्त्री ओलीले आईतवार बिहान ९ बजे परिषद्को बैठक बोलाएका छन् । तर देउवाले शनिवार नै बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराइसकेका उनी निकट स्रोतले जानकारी दिएको छ ।
संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान रहेको छ । हालसम्म बैठक स्थगित भएको सूचना भने जारी गरिएको छैन । ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगका रिक्त पदमा आफू निकटलाई सिफारिस गर्ने योजना बनाएका छन् ।
परिषद्को बैठक बोलाएलगत्तै शुक्रवार प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच भेटवार्ता समेत भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा गरी ४० भन्दा बढी पद रिक्त रहेका छन् । नियुक्तिको विषयमा छलफल भए पनि प्रधानमन्त्री ओली र सभापति देउवाबीच सहमति जुटेको छैन ।
ओली सरकारविरुद्ध कांग्रेसले मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्दैछ । प्रदर्शनको १ दिनअघि प्रधानमन्त्री ओलीले परिषद्को बैठक बोलाएपछि त्यसलाई कांग्रेस नेताहरूले शंकाको दृष्टिले हेरेका छन् । शनिवार नै कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । कांग्रेसले भोलिको प्रदर्शनलाई भव्य बनाउने निर्णय समेत गरेको छ ।
संविधानको धारा २८४ मा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था रहेको छ । हाल उपसभामुखको पद रिक्त रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।