काठमाडौं - नेकपामा देखिएको विवाद तत्कालै समाधान हुने संकेत देखिएको छैन । प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष आ–आफ्नै दाउपेचमा लागेका छन् ।
ओली पक्षले पछिल्लो समय माधव नेपाली समूहलाई एक्ल्याउन प्रचण्डलाई फकाउने रणनीति अख्तियार गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहअनुसार नै ओलीले प्रचण्डसँग ठूलो विवाद नगर्ने र माधव नेपाललाई साइजमा ल्याउने तयारी थालेका हुन् ।
सोही रणनीतिअनुसार ओलीले आफ्ना विशेष दूतमार्फत खुमलटारमा सचिवालय सदस्य संख्या थप्ने प्रस्ताव पठाएका छन् । तर, प्रचण्डले अहिलेसम्म कुनै रेस्पोन्स नगरेको बुझिएको छ ।
सचिवालयमा शंकर पोखरेल र सुवासचन्द्र नेम्वाङलाई थपेर ११ सदस्यीय बनाउन ओलीले गृहकार्य सुरु गरेको नेकपामा चर्चा छ । अहिले ओली सचिवालय, स्थायी कमिटी र केन्द्रीय समिति तीनतिरै अल्पमतमा छन् ।
सचिवालय सदस्य संख्या बढाएर आफ्नो पक्षमा पारेपछि धमाधम निर्णय गर्ने बालुवाटार तयारीमा लागेपछि माधव नेपाल समूहले आफ्ना समूहलाई पनि सचिवालय सदस्य बनाउनुपर्ने अडान लिएको छ ।
नेपाल समूहमा भीम रावल, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे सचिवालय सदस्यका प्रबल दाबेदार हुन् । तर, प्रचण्ड भने अन्योलमा परेका छन् ।
यसअघि आफूले सचिवालय सदस्य बनाएका रामबहादुर थापा बादल ओली क्याम्पमा पुगेपछि आफ्नो समूहमा भर पर्दा नेताको अभाव रहेको प्रचण्डको निष्कर्ष छ । प्रचण्ड समूहमा पम्फा भुसाल, जनार्दन शर्मा र वर्षमान पुन सचिवालय सदस्य बन्न सक्ने नेता हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।