काठमाडौं – नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका सहसचिव पदम बोहराले अनौठो हर्कत देखाएका छन् । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को झगडा मिल्नुपर्ने भन्दै बोहराले भोकभोकै अनशन बसेको सुन्दा अचम्म लाग्नसक्छ ।
उनी नेकपाको शुभेच्छुक संगठन प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशका सदस्य पनि हुन् । उनी नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा रिले अनसन बसेका छन् ।
नेकपा डडेल्धुरा जिल्ला कमिटी सदस्य समेत रहेका पदम बोहराले पार्टी एकता जोगाउनुपर्ने लगायतका ५ बुँदे माग राख्दै आईतबारदेखि अनशन बसेका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूबीच देखिएको विवाद समाधान गरेर पार्टी एकता बलियो बनाउनुपर्ने बोहराको माग छ ।
‘पार्टी विभाजन हुनु हुँदैन भन्ने माग राख्दै म अनशन बसेको हुँ,’ उनले भने, ‘नेताहरूले व्यक्तिगत, पारिवारिक र गुटगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्छ ।’
सचिवालयबाट स्थायी कमिटीमा लैजाने निर्णय गरिएका दुवै अध्यक्षका प्रतिवेदन फिर्ता लिएर छलफल चलाउनुपर्ने समेत बोहराको माग छ ।
‘पार्टी एकताको बाँकी काम अगाडि बढाएर महाधिवेशनसम्म पुर्याउनुपर्छ,’ उनले भने, ‘संघीयता, गणतन्त्र र आन्दोलनको रक्षाको लागि पार्टी एकबद्ध हुनुपर्ने माग राखेको छु ।’ उनी प्रत्येक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अनशन बस्ने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।