काठमाडौं – नेकपाभित्र विवाद चर्किरहेका बेला बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समयमै नपाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरू गरेका छन् ।
ओलीको अनुपस्थितिमै प्रचण्डले बैठक सुरू गरेपछि अब नेकपाको विवाद बढ्ने देखिएको छ । झण्डै ३ महिनापछि नेकपा स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आईतबार दिउँसो सुरू भएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा ओली नपुगेपछि उनलाई बाइपास गर्दै प्रचण्डले नै बैठक सुरू गरेका छन् । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी छन् ।
पार्टी विवाद जटिल मोडमा पुगेका बेला स्थायी कमिटी बैठक सुरू भएको छ । ओली सहभागी नभए पनि ओली पक्षीय नेताहरू भने बैठकमा सहभागी छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बैठकको अध्यक्षता प्रचण्डले गरिरहेका बताएका छन् । यसअघि गत असार १० गते शुरू भई भदौ २६ गते सकिएको बैठकले पार्टीको विवाद अल्पकालका लागि मिलाएको थियो ।
ओलीले सरकार सञ्चालन गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने भनेर भदौ २६ गतेको बैठकले कार्यविभाजन गरेको थियो । भदौ २६ गतेको सहमति ओलीले कार्यान्वयन नगर्दा पार्टीमा समस्या आएको आरोप प्रचण्ड पक्षले लगाउँदै आएको छ ।
स्थायी कमिटी बैठकमा यसअघि सचिवालयमा पेश गरिएका प्रस्तावमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटी बैठकलगत्तै मंसिर २५ गतेदेखि नेकपा केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।