काठमाडौं - पुल उद्घाटनको विषयलाई लिएर नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वसभामुख रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेपछि कांग्रेस नेकपा सरकारविरुद्ध खनिएको छ। हिजो तनहुँमा पुल उद्घाटनको विषयलाई लिएर नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुने अवस्था आएको भन्दै तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेकै समयमा पुल उद्घाटन गर्न जान लागेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
तनहुँ प्रहरीले वरिष्ठ नेता पौडेललाई गिरफ्तार गरी हिरासतमा राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी तत्काल रिहाइ गर्न भनेका थिए। करिब ३ घण्टा तनहुँ प्रहरीको हिरासतमा बसेपछि पौडेल रिहाइ भएका हुन्। हिजो विवादकै कारण उद्घाटन रोकिएको बुल्दी खोला पुल भने आज वरिष्ठ नेता पौडेलले नै उद्घाटन गर्ने कांग्रेसले जनाएको छ।
हिजोको घटनाले नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आफ्नो पतनको लागि आफैँ मार्ग प्रशस्त गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको टिप्पणी छ।
‘उहाँ पक्राउ परेपछि कयौँ ठाउँमा साथीहरुले प्रदर्शन गर्नु भयो, अझै गर्नुहुन्छ। उहाँ गिरफ्तारमा पर्नु भयो छोडिनु भयो कुरा सकियो यो होइन। यो सरकारले आफ्नो पतनको लागि मार्ग प्रशस्त गरेको भन्ने हाम्रो ठहर छ,’ भोलीको दिन पनि देशका विभिन्न ठाउँमा साथीहरुले प्रदर्शन गर्नु नै हुनेछ। प्रदर्शनको तम्तयारीमा साथीहरु हुनुहुन्छ। स्थगित गरेको पुल उद्घाटनको काम पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल ११ बजे त्यही पुल उद्घाटनको लागि जानुहुन्छ।’
पौडेल पक्राउ पछि कांग्रेस सभापति देउवाले पनि विज्ञप्ती जारी गरी देशव्यापी विरोध कार्यक्रम चर्काउने बताएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।