काठमाडौं – शान्त र शालिन स्वभावका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको समाचार अनपेक्षित थियो । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यतिसम्म गर्न सक्छ भनेर सायद कसैले कल्पना गरेका थिएनन् ।
तर प्रहरी परिचालन गरेर सरकारले पौडेललाई पक्राउ गर्यो । त्यसपछि प्रतिपक्षी नेपाली कांग्रेस आक्रोशित भयो ।
सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै विरोध जनाउने सिलसिलासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई सिधै फोन गरे ।
तनुहँमा पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले वरिष्ठ नेता पौडेल सहितलाई पक्राउ गरेको खबर देशभर फैलिइसकेको थियो । पुल उद्घाटनबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसबीच विवाद भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर पौडेलले निषेधाज्ञा नमान्ने भन्दै जुलस लिएर पुल उद्घाटन गर्न हिँडेपछि प्रहरीले धरपकड गरेको थियो । पौडेलको पूर्व निर्धारित कार्यक्रम प्रभावित गर्ने गरी प्रशासनले निषेधाज्ञा लगाएको थियो ।
सभापति देउवाले प्रधानमन्त्री ओलीलाई फोन गरेर नेता पौडेललाई किन पक्राउ गरेको भनी प्रश्न गरे । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले नेता पौडेललाई तत्काल रिहा गर्न र त्यसो नगरे आन्दोलनको सामना गर्न तयार रहन भनेका थिए ।
जवाफमा प्रधानमन्त्रीले नेता पौडेलकै शान्ति सुरक्षाका लागि प्रहरीले सुरक्षित स्थलमा लगेको तर्क गरेका जनाइएको छ । सभापति देउवाले थर्काएपछि सरकारले पौडेललाई रिहा गरिसकेको छ ।
यसअघि सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको जनाएका थिए । प्रेस विज्ञप्ति जारी गर्दै देउवाले पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटना आपत्तिजनक एवं निन्दनीय रहेको बताएका थिए ।
‘‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ देउवाले भनेका थिए, ‘सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।