काठमाडौं - प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद टुटेको ११ दिन बितेको छ । यसअघि सचिवालय बैठक बस्नुअघि प्रचण्ड बालुवाटार पुगेर ओलीसँग छलफल गर्थे ।
तर, यसपटक भने मंसिर २ गतेदेखि प्रचण्डले बालुवाटार टेकेनन् । नेकपाका दुई अध्यक्षबीच संवादहीनताकै अवस्थामा सचिवालय बैठक बस्न लागेको हो । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकलाई लिएर नेकपा नेता कार्यकर्तामा मुटुको ढुकढुकी बढेको छ ।
कतै आजकै बैठकबाट नेकपा विधिवत् विभाजन हुने त होइन भन्ने त्रास नेकपा नेता कार्यकर्तामा छ । आज ओलीले ४० पृष्ठ लामो जवाफ पत्र प्रचण्डलाई दिनेछन् । ओलीको जवाफ पत्रलाई राजनीतिक प्रतिवेदन भन्दै त्यसलाई तल्लो तहसम्म लैजाने तयारी छ ।
ओलीले पत्रमा ‘पार्टीको भावी कार्यदिशा’ भनेर उल्लेख गरेकाले अब प्रचण्ड र ओलीको प्रतिवेदन तल्लो तहमा जाने र त्यसले पार्टी विभाजनको बीजारोपण गर्ने आशंका गरिएको छ । सचिवालय बैठकमा अहिलेसम्म प्रचण्ड बहुमतमा छन् ।
ओलीसँग चार सदस्य छन् भने प्रचण्डसँग पाँचजना छ । तर, शुक्रबार राति नै प्रधानमन्त्री ओलीले ईश्वर पोखरेललाई भैसेपाटीस्थित वामदेव गौतम निवास पठाएर आजको बैठकमा तठस्थ बस्न आग्रह गर्न लगाएको बुझिएको छ । स्रोतका अनुसार आजको सचिवालय बैठकमा ओलीले वामदेवलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गर्ने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।