काठमाडौं - सत्तारुढ नेकपामा अहिले अस्थायी युद्धविराम देखिएको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला विभिन्न शक्तिकेन्द्रको दबाबका कारण नेकपा विभाजनको डिलमै पुगेर अडिएको छ ।
तर, कति समयसम्म एकढिक्का रहने भन्ने निश्चित छैन । किनभने मंसिर १३ गतेसम्म सबै प्रतीक्षामा छन् । अब बस्ने नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेतालाई जवाफ लेख्दैछन् ।
त्यो जवाफ साह्रै कडा हुने संकेत ओलीले बुधबारकै बैठकमा दिइसकेका छन् । नेकपाका नेताहरु ओलीले दिने जवाफले नै पार्टीको आगामी भविष्य निर्धारण गर्ने बताउँछन् ।
योगेश भट्टराई, घनश्याम भुसाल, टोपबहादुर रायमाझीलगायतका नेता आगामी बैठकबाट नेकपा नफुट्नेमा निश्चिन्त छन् । तर, ईश्वर पोखरेल, शंकर पोखरेल, गोकुल बास्कोटाहरु ढुक्क छैनन् ।
किनभने अलि अघिसम्म प्रचण्डको पत्रको जवाफ ओलीले दिन आवश्यक नरहेको र त्यो खारेज गर्नुपर्ने उनीहरूको तर्क छ । ओलीले बुधबारको बैठकमा आफूले प्रचण्डले दिएको पत्रलाई हल्का नलिएको बरु गम्भीर ढंगले लिएको भन्दै आफूमाथि लगाइएको आरोप पुष्टि भएमा आफूले प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्ने, आरोप पुष्टि नभए प्रचण्डले अध्यक्ष छाड्नुपर्ने विचार राखिसकेकाले अब कम्तीमा पनि नेकपा एकढिक्का नरहने विश्लेषण सुरु हुन थालेको छ ।
ओली आफ्ना विरोधीलाई कसरी सिध्याउने भन्नेमा माहिर छन् । त्यसमाथि उनले प्रचण्डले आफूमाथि लगाएको आरोप आजसम्मकै सबैभन्दा घटिया र अश्लील भएको उनको ठहर छ । त्यसैले १३ गते बस्ने नेकपा सचिवालय बैठकमा ओलीले निकै कडा जवाफ पत्र लेख्ने निश्चित छ ।
अहिले ओलीलाई उनी निकट नेताहरु प्रचण्डलाई नेकपाबाट खेद्ने गरी जवाफ लेख्न उक्साइरहेका छन् । त्यसैले प्रचण्डको हालसम्मको राजनीतिक जीवनमाथि नै प्रहार गर्ने गरी जवाफ आएपछि उनले के गर्लान् ? भन्ने चासो सर्वत्र देखिएको छ ।
धेरैले ओलीको जवाफ आएकै दिनदेखि एमाले र माओवादी अलग अलग हुने अनुमान गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।