काठमाडौं - तीन वर्षअघि दशैंको समयमा देशमा कांग्रेस नेतृत्वको सरकार थियो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।
सरकारमा तत्कालीन माओवादी केन्द्र पनि सामेल थियो । माओवादीबाट कृष्णबहादुर महराले नेतृत्व गरेका थिए । गृहमन्त्री जनार्दन शर्मा थिए । तर, कांग्रेसलाई कुनै जानकारी नै नदिई रातारात तत्कालीन एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा वाम एकताको प्रपञ्च रचियो ।
कांग्रेसले थाहा पाउँदा दुवै पार्टीबीच सहमति भइसकेको थियो । केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको खुबै मिल्ती थियो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुवै पार्टीबीच सहकार्य भयो ।
र, कम्युनिस्ट पार्टीले आरामले बहुमत ल्याए । प्रधानमन्त्री केपी ओली बने । लगत्तै एमाले र माओवादीबीच पार्टी एकता भयो । तर, आज साढे दुई वर्षमै एमाले र माओवादीबीच विभाजनको रेखा कोरिएको छ ।
बैठक बोलाउने कि नबोलाउने भन्ने विषयले विभाजनको रेखा कोरिएको हो । अहिले सचिवालय बैठकमा प्रचण्ड पक्ष बहुमतमा छ । त्यही भएर सचिवालय बैठकले आफूविरुद्ध निर्णय गर्न सक्ने ओलीको ठम्याइँ छ ।
आजसम्म ओलीले बैठक नबोलाए प्रचण्ड र माधवकुमार नेपाल समूहले बैठक बोलाउने तय गरेपछि नेकपा महासचिव विष्णु पौडेलले ओभरटेक गरेका छन् । ओलीकै निर्देशनमा पौडेलले शुक्रबारका लागि सचिवालय बैठक बोलाएका छन् ।
तर त्यसको औपचारिक जानकारी गराइएको छैन । स्रोतका अनुसार केही समयपछि शुक्रबारका लागि सचिवालय बैठक बोलाइएको जानकारी गराइने छ ।
बेलुकीसम्म पनि ओलीले सचिवालय बैठक नबोलाए प्रचण्डसहितका बहुमत पाँच सदस्यको सचिवालय बैठक बस्ने भएको छ । तर, आज बेलुकीसम्म उपाध्यक्ष वामदेव गौतमलाई आफूतिर तान्न बालुवाटारले निकै ठूलो गेम अघि बढाइसकेको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।