काठमाडौं - सत्तारुढ नेकपामा देखिएको विवाद झन झन उत्कर्षमा पुगेको छ । पार्टीको बैठक बोलाउन प्रचण्ड र माधवकुमार नेपाललगायत पाँच नेताले दिएको ४८ घन्टाको समय सोमबार राति नै सकिएको छ ।
सहमतिका लागि भनेर २४ घन्टा फेरि थपिएको छ । यदि आज बेलुकासम्म ओलीले बैठक नबोलाए बहुमतबाट निर्णय गरी सचिवालय बैठक बोलाउने अध्यक्ष प्रचण्डले चेतावनी दिइसकेका छन् ।
त्यसैले आजको दिन नेकपामा ओली र प्रचण्डमध्ये को बलियो भन्ने कुराको छिनोफानो हुने बताइएको छ । ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाएर छलफल गर्दै आएका छन् ।
आफ्ना विशेष दूत खुमलटार पठाएर ओलीले सहमति गर्न खोजे पनि प्रचण्डले मानेका छैनन् । उनले बैठकबाटै ओलीलाई ट्रयाकमा ल्याउने बताइसकेका छन् ।
नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीलाई बैठक फेस गर्न र एकलौटी ढंगले नभई मिलेर जान सुझाव दिएपछि उनी अप्ठेरोमा परेका हुन् । बैठक बोलाउँ त आफ्नो घमण्ड तोडिने नबोलाउँ त बहुमतको निर्णयले कतै आफ्नै कुर्सी धरापमा पर्ने त होइन भन्ने बडो सकसमा ओली परेका छन् ।
तर, पनि उनी निकटस्थ नेताहरूले तत्काल बैठक बस्न आवश्यक नभएको भन्दै ओलीलाई उक्साइरहेका छन् । आफूले पूर्वमाओवादीका नेतालाई बालुवाटारमा छलफल गर्न बोलाउँदा पनि नआएपछि ओलीको मनमा चिसो पसेको छ ।
यदि पूर्वमाओवादी पक्षले हरेक निर्णय नमान्दै गएमा आफ्नो औचित्य नभएको देखिने भन्दै ओली चिन्तामा परेका हुन् । तोकेको समयसम्म पनि ओलीले सचिवालय बैठक नबोलाएपछि सोमबार साँझ प्रचण्डसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा छलफलमा जुटेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।