काठमाडौं - सत्तारुढ नेकपामा विवाद उत्कर्षमा पुग्नै लाग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तक्षेप गरेकी छन् ।
उनले मंगलबार पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बोलाएर कुनै पनि हालतमा नेकपा विभाजन नगराउन निर्देशन दिएपछि राष्ट्रपति भण्डारी विवादमा तानिएकी छन् ।
देशकै राष्ट्रपति भए पनि कुनै अमूक दलमा देखिएको विवादलाई लिएर सो पार्टीमा हस्तक्षेप गर्नु, नेताहरुलाई बोलाएर गोप्य मन्त्रणा दिनुले भण्डारीलाई ‘नेकपाको राष्ट्रपति’ बनेर आलोचना गर्न थालिएको छ ।
गत मंसिर ४ गतेदेखि कात्तिक १८ गतेसम्म गरी नेकपाका शीर्ष र दोस्रो तहका नेतालाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले मिलेर जान निर्देशन दिँदै आएकी छन् ।
यी घटनाले भण्डारी अझै पनि नेकपाको प्रभावशाली नेतृ रहेको स्पष्ट हुन्छ । जबकि राष्ट्रपति निर्वाचित भएलगत्तै भण्डारीले तत्कालीन एमालेको साधारण सदस्यताबाट समेत राजीनामा दिइसकेकी छन् ।
तैपनि उनले नेकपाको शाखा कार्यालय शीतल निवासलाई बनाएको चर्चा नेताहरुले गर्न थालेका छन् । गत असारमा नेकपामा विवाद उत्कर्षमा पुगेको थियो ।
प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने तयारी भएको हल्लापछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले हस्तक्षेप गरेकी थिइन् ।
उनी बालुवाटार, खुमलटार र कोटेश्वर पुगेर नेताहरुलाई भेटेर पार्टीको विवाद समाधान गर्न दबाब दिएकी थिइन् । चिनियाँ राजदूतको सक्रियतापछि नेकपाको विवाद मत्थर भएको थियो ।
तर, अहिले दृश्यमा चिनियाँ राजदूत यान्छी सक्रिय नदेखिए पनि नेताहरुसँग भेटघाट भने जारी रहेको स्रोतले बताएको छ । नेकपा सत्तारुढ दल हो ।
तर, सत्तारुढ दलमा कुनै अमूक देशको राजदूत र देशकै सर्वोच्च संस्था राष्ट्रपति कार्यालय आफैं सक्रिय हुनु लज्जास्पद भएको जनताले अनुभूति गर्न थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।