काठमाडौं - सत्तारुढ नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद टुटेको १० दिन बितेको छ । यसबीचमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई भेट्न खोजे पनि सकेका छैनन् ।
दशैंको अवधिभर प्रचण्ड आफ्नै निवास खुमलटारमै परिवारसँग घुलमिल गरेर बिताए । पत्नी सीता दाहालको स्वास्थ्य अवस्था त्यति राम्रो नभएकाले पनि यसपटक दशैंको बिदामा प्रचण्ड कतै पनि गएनन् । छोरीज्वाइँ, नातिनातिनासँगै दशैं मनाए ।
आफूले दशैंको टीका लगाएनन्, तर छोरीहरुलाई लगाइदिए । उता प्रधानमन्त्री ओलीले भने बालुवाटारमा धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिए । आफूले घरमा टीका नलगाए पनि उनी दशैंको टीका थाप्न राष्ट्रपति कार्यालय शीतल निवास पुगे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई टीका लगाइदिइन् । तीन वर्षअघिको दशैंमा ओली र प्रचण्डबीच निकै हार्दिक सम्बन्ध थियो । अहिले स्थिति फरक देखिइसकेको छ ।
पूर्वएमाले र पूर्वमाओवादीबीच एकता भए पनि सबैतिर एकता प्रक्रिया टुंगिसकेको छैन । ओलीकै कारण पार्टी एकताको काम बाँकी रहेको निष्कर्षमा प्रचण्ड पुगेका छन् ।
सरकार र पार्टी दुवैतिर आफ्नो भूमिका कमजोर बनाइएपछि प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्नै नचाहेको देखिएको छ । सधैं आफूलाई भेट्न आउने प्रचण्ड धेरै दिनदेखि नआएपछि प्रधानमन्त्री ओलीले आफ्ना विशेष दूत शंकर पोखेरललाई बिहीबार प्रचण्ड निवास खुमलटार पठाए ।
पोखरेलले पनि प्रधानमन्त्रीले भेट्न चाहेको र बालुवाटार जान सल्लाह दिए । तर, प्रचण्डले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेललाई स्पष्ट रुपमा अब आफू प्रधानमन्त्री ओलीसँग नझुक्ने सन्देश दिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओली संकटमा पर्न थालेपछि पोखरेल लुम्बिनी छाडेर काठमाडौं आएका हुन् । सधैं आफूलाई अलमल्याएर सरकार र पार्टी दुवैमा ओलीकै भूमिका बलियो बनाएको ठहरमा प्रचण्ड पुगेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव र पर्सामा पूर्वमाओवादी निकट नेता मारिँदा पनि सरकारले कुनै चासो नदेखाएपछि प्रचण्ड ओलीसँग निकै असन्तुष्ट बनेको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।