काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको डिलमै पुगेको छ । दुई अध्यक्षबीच पार्टी सञ्चालनबारे फरक फरक निर्देशन जारी भएपछि अब नेकपा लामो समयसम्म एकढिक्का रहनेमा आशंका गर्न थालिएको छ ।
नेकपाकै नेताहरूले पार्टी विभाजन गर्ने षडयन्त्रसहित भित्री खेल अघि बढाइएको दाबी गर्न थालेका छन् । कर्णाली प्रदेशमा देखिएको विवाद नेकपा विभाजनको कारण बन्न सक्ने अनुमान गर्न थालिएको छ ।
नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षीय युवा नेताहरू नै पार्टी विभाजनको मनस्थितिमा पुगेको र उनीहरूले यसका लागि गृहकार्य गरिरहेको भन्दै दशैंलगत्तै परिणाम देखिन सक्ने बताउन थालेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा नेता यामलाल कँडेलको महत्वाकांक्षा नै पार्टी विभाजनको कारक बन्न सक्ने देखिएको छ ।
कर्णाली प्रदेशको विवादमा ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आ–आफ्नो तयारी थालेका छन् । यदि प्रचण्ड र नेपाल समूह एकढिक्का भई अघि बढेमा केन्द्रमा प्रधानमन्त्री केपी ओली मात्रै सुरक्षित रहन सक्ने, प्रदेश १, बाग्मती र लुम्बिनी प्रदेशमा जुनसुकै बेला पनि मुख्यमन्त्री फालिने डर ओली समूहमा रहेको छ ।
त्यसैले ओली समूहका नेताहरू कुनै पनि हालतमा प्रचण्ड र नेपाललाई मिल्न नदिने रणनीतिमा लागेका छन् । स्रोतका अनुसार यदि ओलीसँगको लडाइँमा नेपालले आफूलाई साथ नदिएमा नेकपामा बस्न नसकिने निष्कर्ष प्रचण्डले निकालेका छन् । त्यही भएर अहिले नेता नेपालसँग प्रचण्डको पटक पटक कुराकानी भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।