काठमाडौं - प्रधानमन्त्री केपी ओलीले पहिलोपटक पुष्पकमल दाहाल प्रचण्डको अनुपस्थिति खल्लो महसुस गरेका छन् ।
सधैं आफूलाई बालुवाटारमा भेट्न आउने प्रचण्डलाई दुई तीन घन्टा गफ दिएर पठाउने ओलीले बोलाउँदा पनि शनिबार प्रचण्ड बालुवाटार गएनन् । स–साना विषयमा पनि छलफल गर्न भन्दै बालुवाटार पुग्ने प्रचण्ड कर्णाली प्रदेशको विवाद समाधान गर्न नेकपाका प्रदेश पदाधिकारीसँग ओलीले संयुक्त भेटवार्ता गर्ने तय गरेका थिए ।
त्यसकै लागि उनले प्रचण्डलाई बालुवाटार आउन निम्तो पठाए । तर, प्रचण्डले सिधै जवाफ फर्काए, ‘म आउँदिन, तपाई आफैं छलफल गर्नुस्, आवश्यक परे पछि छलफल गरौंला ।’
प्रचण्डको यस्तो सन्देशपछि ओली तनावमा मात्र परेका छैनन्, उनले कतै प्रचण्डले आफूविरुद्ध अरु केही षड्यन्त्र गर्न लागेको हो कि भन्ने शंका गरेका छन् । ओलीले कर्णाली प्रदेशका पदाधिकारीसँगको भेटमा प्रचण्डले छुट्टै ढंगले पार्टी सञ्चालन गरिरहेको आरोप लगाए ।
‘एउटै पार्टीका नेताहरुलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो । समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ । उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन । यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको आभास भयो । खैर केही छैन, हामी दुवैजना बस्छौँ र तपाईंहरुको समस्यालाई समाधान गर्छौं ।’
आफूले पटक पटक मन्त्रिपरिषद् पुनर्गठन गर्न आग्रह गर्दा पनि ढिलाइ गरेको, तीन मन्त्री नियुक्ति गरे पनि आफूलाई कुनै जानकारी नदिएको, राजनीतिक नियुक्तिमा एकलौटी गरेको, आफू पार्टीको कार्यकारी अध्यक्ष भए पनि पेलेर जान थालेपछि प्रचण्डले बालुवाटारतिरको इच्छा नदेखाएको स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।