काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तारुढ नेकपामा फेरि किचलो सुरु भएको छ ।
पूर्वएमालेका १४ र पूर्वमाओवादी पक्षका चार गरी १८ जना सांसदको हस्ताक्षरमा प्रदेश सचिवालयमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।
केन्द्रमा मन्त्रिपरिषद् पुनर्गठनमा किचलो देखिएकै बेला कर्णाली सरकारमा पनि गडबड देखिएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकै आक्रोशित छन् । उनी सोमबार बिहानै प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
कर्णालीका मुख्यमन्त्री शाही प्रचण्डका विश्वासपात्र नेता हुन् । आफ्नो गुटका मुख्यमन्त्रीलाई हटाएर पूर्वएमाले समूहले यमलाल कँडेललाई मु्ख्यमन्त्री बनाउन चाहेको छ ।
यो सबै खेल बालुवाटारबाटै भएको सुइँको पाएपछि प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगेको खुमलटार स्रोतले बताएको छ । आजको भेटमा केन्द्रको मन्त्रिपरिषद् पुनर्गठनका साथै कर्णाली प्रदेशमा देखिएको विवादका विषयमा ओली र प्रचण्डबीच गम्भीर छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।
प्रचण्डले केन्द्रमा धेरै दुःख दिएकाले उनलाई साइजमा ल्याउनकै लागि कर्णाली प्रदेशको सरकारका विषयमा किचलो झिकिएको खुमलटारको बुझाई छ । तर, कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले भने आफू अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको जनाउँदै सरकार नफेरिने दाबी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।