काठमाडौं - पार्टी निर्णयलाई चुनौती दिँदै प्रधानमन्त्री केपी ओलीले आफूूखुसी राजनीतिक नियुक्ति गरेपछि नेकपामा बबन्डर सुरु भएको छ ।
स्थायी कमिटी निर्णय र सचिवालयको छलफलअनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल जारी रहेकै वेला प्रधानमन्त्री ओलीले बिहीबार मुख्यसचिवसहित तीन मुलुकमा राजदूत नियुक्ति गरेपछि दुवै नेताबीच मनमुटाव भएको छ ।
ओली र प्रचण्डबीच तीन दिनदेखि संवाद ठप्प छ । मन्त्रिपरिषद् पुनर्गठनमा सहमति नजुटेपछि दुवै नेताबीच संवाद टुटेको हो । प्रधानमन्त्री ओली र प्रचण्डबीच गत ६ असोजयता ६ पटकसम्म मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेर छलफल भए पनि मापदण्ड, मोडालिटी र संख्यामा अझै समझदारी जुटेको छैन ।
लगातारको छलफलबाट कुनै निष्कर्ष नआएपछि ओलीले प्रचण्डसँग थप छलफल गर्नुको औचित्य नरहेको निकटस्थमार्फत खुमलटारलाई सन्देश पठाएका छन् । प्रचण्ड पनि तीनदेखि बालुवाटार गएका छैनन् ।
प्रचण्डले सबै मन्त्रीलाई राजीनामा गराएर मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने बताएका छन् । तर, ओलीले आफूलाई सहयोग गर्ने सबै मन्त्रीलाई बिदा गर्न नसक्ने अडान राखेका छन् ।
प्रचण्डले आफूलाई घेरा हाल्ने संकेत पाएपछि ओलीले अब प्रचण्डसँग मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्नुको औचित्य नभएको सन्देश पठाएको बुझिएको छ ।
त्यही भएर बिहीबारदेखि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले मन्त्री कसलाई बनाउने र हटाउने निर्णय गर्ने अधिकार प्रधानमन्त्रीमै रहनुपर्ने धारणा अघि सार्न थालेका छन् ।
ओलीले गृहमन्त्री रामबहादुर थापा बादल र आपूर्तिमन्त्री लेखराज भट्टलाई कुनै पनि हालतमा नहटाउने, हटाउनै परे उनीहरूको ठाउँमा जनार्दन शर्मा र टोपबहादुर रायमाझी ल्याउने ओलीको चाहना छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।