काठमाडौं - झन्डै पाँच महिनाको रस्साकस्सीपछि नेकपामा अहिले किचलो मत्थर भएको देखिएको छ ।
कोरोना महामारीसँगै लकडाउन भएलगत्तै नेकपामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई दुईमध्ये एक पदबाट हटाउने अभियान सुरु भएको थियो ।
ओली कुनै पनि हालतमा दुवै पद नछाड्ने अडानमा देखिए, तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने उनलाई एउटा पदबाट हटाउने अभियानमा लागिरहे ।
त्यसका लागि सचिवालय र स्थायी कमिटी बैठकलाई प्रयोग गरियो । तर, ओलीले दुवै बैठक बस्नै दिएनन् । कतिसम्म भने असारमा सुरु भएको स्थायी कमिटी बैठकलाई तीन महिनासम्म ओलीले टारिदिए ।
जबसम्म प्रचण्ड र माधव नेपाल समूहलाई गलाउन उनी सफल भएनन्, तबसम्म बैठक बोलाउँदै बोलाएनन् । जब वामदेव गौतम प्रयोग गरेर आफ्नो कुर्सी जोगाए तब एक दिने स्थायी कमिटी बैठक बोलाएर र समाप्त गरे ।
ओलीको दुवै पद थमौती भएपछि अहिले प्रचण्डले चिसो पानीमै नुहाउन बाध्य भएको भन्दै उनको आलोचना भएको छ । डिलमै पुगेर पनि ओलीले आफ्नो कुर्सी जोगाएपछि अहिले प्रचण्डको चरित्रमाथि व्यंग्य गर्दै भन्न थालिएको छ, ‘लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ ।’
ओलीलाई लडाउँछु भनेर हिँडेका प्रचण्ड आफैं तीन बल्ड्याङ भएपछि आगामी महाधिवेशनमा उनलाई साइजमा ल्याउने रणनीतिमा पूर्वएमाले समूह पुगेको छ । स्रोतका अनुसार त्यसको तयारी सुरु भइसकेको छ ।
आगामी महाधिवेशनमा प्रचण्डलाई कमजोर बनाउन उनका निकट नेतालाई तान्ने र भड्काउने अभियान धेरै अघि बढेको छ । पूर्वमाओवादी पक्षकै रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, दीनानाथ शर्मा जस्ता नेता अहिले ओलीको ग्रिपमा आइसकेका छन् ।
तराई मधेसबाट पनि प्रचण्ड निकट नेता आफूतिर तान्ने प्रयास भइरहेको छ । प्रचण्डले आगामी महाधिवेशनमा ओलीले आफूलाई एकल अध्यक्षमा सहयोग गर्ने अपेक्षा गरेका छन्, तर संकेत त्यस्तो नदेखिएको नेकपाका नेताहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।