काठमाडौं - संसारमा धेरै शासक प्रशासकका लागि आफ्नो आरती गर्न र भजन गाइदियोस्, गाली नगरिदिए हुन्थ्यो भन्ने लाग्छ ।
पार्टी र देशको सत्ता बाहिर रहँदा आफैं नेता र सरकारको प्रशस्त आलोचना गर्ने तर त्यो ठाउँमा पुगेपछि कसैले केही नभनिदियोस् भन्ने लाग्छ । नेपालमा पनि सबै पार्टीका नेता कार्यकर्तामा यस्तै मनोवृत्ति देखिएको छ । यसमा पनि सबैभन्दा बढी कम्युनिस्ट पार्टीमा छ ।
सत्तारुढ नेकपामा त यस्तो प्रवृत्ति धेरै नै छ । त्यही भएर नेकपाले त्यसलाई नियन्त्रण गर्न नयाँ नियम लागू गर्ने भएको छ । पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालका साथै मिडियामा पनि कुनै नेतालाई गालीगलौज गर्न नपाइने नीति अघि सारेका हुन् ।
स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद्ध सबैलाई यो बैठक निर्देशित गर्दछ ।’
अध्यक्षले तयार पारेको प्रस्तावमा भनिएको छ, ‘आन्तरिक विवादलाई कटुतपूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग– अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरुलाई कडाईका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुसाशीत र पार्टी भित्रको वहस– विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने निर्णय गर्दछ।’ यस्तो नीति सार्वजनिक भएलगत्तै अहिले सामाजिक सञ्जालमा कार्यकर्ताहरूले लेख्न थालेका छन्, अब नेताको आरती गर्ने, भजन गाउन मात्र मिल्ने हो, गाली गर्न पाइँदैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।