काठमाडौं - प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान बालुवाटारमा भएको भेटवार्तामा पार्टीको स्थायी कमिटी बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ । स्थायी कमिटी बैठक साउन १३ गतेदेखि स्थगित हुँदै आएको छ ।
स्थायी कमिटी बैठककै विषयलाई लिएर लामो समयदेखि ओली र प्रचण्डबीच टसल देखिँदै आएको थियो । ओलीले विभिन्न बहानामा बैठक स्थगित गराउँदै आएका थिए । स्थायी कमिटी बैठकमा ओली अल्पमतमा छन् ।
प्रचण्ड र माधवकुमार नेपाल समूह मिलेर आफ्नो राजीनामा माग्ने डरले ओलीले बैठक टार्दै गएका थिए । यही बीचमा पार्टी उपाध्यक्ष वामदेव गौतमले विवाद निरुपणका ६ बुँदे रोडम्याप प्रस्तुत गरेपछि ओलीको कुर्सी जोगिएको थियो ।
तर, ओलीले वामदेवलाई सांसद बनाउने आश्वासन दिए पनि त्यो प्रतिबद्धता पूरा गरेका छैनन् । आफ्नो कुर्सी जोगिएपछि र प्रचण्डको निकै ठूलो दबाबपछि ओली गलेका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा अध्यक्ष ओली र प्रचण्डका साथै महासचिव विष्णु पौडेलसहितको छलफलमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।