चितवन- तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ। पोल्ट्री राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो।
एक हप्ताअघि प्रतिकेजी खुद्रा ४२० रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले २०० रुपैयाँमा झरेको छ। कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि यतिखेर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरु केही घण्टामात्र खुल्ने गरेका छन्।
नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्री व्यवसाय अति संवेदनशील क्षेत्र भएकाले निर्वाधरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मारमा परेको बताए। ु४५ दिनभन्दा बढी कुखुरा पाल्दा उत्पादन लागत पनि उठ्दैनु, उनले भने, 'कुखुरा र तरकारी एउटै जस्तै हो। लामो समयसम्म भण्डार गरेर राख्न मिल्दैन। अहिले मासु खपत हुने ठाँउ बन्द जस्तै छ।'
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बजार खपतको अनुमान गरेर कुखुराको चल्ला हाल्ने गरे पनि मुख्य खपत हुने ठाउँ बन्द हुँदा समस्या उत्पन्न भएको बताए। समान्यतय ब्रोइलर कुखुराको चल्ला कोरल्न २२ दिन लाग्छ। २२ दिनअघि गरेर अनुमान अहिले नमिल्दा कुखुराको उत्पादन बढी र खपत कम हुँदा मुख्यमा भारी गिरावट आएको उनको भनाइ छ।
निषेधाज्ञाको प्रभाव चल्ला उत्पादन गर्ने ह्याचरी पनि परेको छ। प्रतिहप्ता ४५ लाख चल्ला उत्पादन हुने यहाँ लकडाउनका कारण ३० लाख प्रतिहप्ता उत्पादन हुने गरेको छ। उत्पादन भएको चल्लामध्ये ५० प्रतिशतमात्र बिक्री हुने गरेको अध्यक्ष पोखरेल बताउँछन्।
बाँकी चल्ला अहिले पनि मारेरै फाल्नुपर्ने अवस्था छ। लागत मुख्यको ५० प्रतिशत कममा पनि चल्ला बिक्री भएका छैनन्। एउटा चल्लाको हालको मूल्य ३० छ भने लागत मूल्य ५६ रुपैयाँ पर्न आउने व्यवसायीहरु बताउँछन्। उपत्यकामा पाँच लाख केजी मासु खपत हुन्छ भने नेपालभर दैनिक १० लाख किलो मासु खपत हुने गर्दछ। यहाँबाट काठमाडौँ, पोखरा र बुटवलमा कुखुरा निर्यात गर्ने गरिन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।