काठमाडौँ- हिजो साँझ दुई घण्टा गोप्य छलफल गरेर आज बिहान बस्ने सचिवालय बैठकमा सबै समस्याको टुङ्गो लगाउने भन्दै नेकपाका दुई जना अध्यक्ष छुट्टिनुभएको थियो । तर आज बिहान १० बजे एकाएक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन थिच्नुभयो ।
प्रचण्डले ‘हेलो, अभिवादन’ नभन्दै प्रधानमन्त्रीले भन्नुभयो ‘तपाईंहरूले फेरि मेराबिरुद्ध घेराबन्दी गर्नुभयो । ठीकै छ, वामदेवजीलाई लैजाऔं । बरु, रामनारायण बिडारीलाई राजीनामा गर्न लगाएर भएपनि युवराज खतिवडालाई लैजानको लागि तपाईंले आवश्यक वातावरण बनाउन पर्यो । त्यसको लागि सचिवालय बैठक दिउँसो ३ बजेसम्म रोकौं ।’
प्रचण्डले थप कुरो भन्न नभ्याउँदै बालुवाटारको फोनमा लाइन काटिएको आवाज आइसकेको थियो । खतिवडा र प्रधानमन्त्रीको लाज जोगाउनैको निम्ति बिडारीको इज्जत फालिदिन पूर्व एमाओवादीहरू कुनै हालतमा पनि अग्रसर नहुने बताइएको छ ।
उता,पार्टीभित्र र बाहिरसमेत चर्को बिरोध र आलोचना भएपछि अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीलाई भेटेर आफूलाई राष्ट्रिय सभामा नलैजान अनुरोध गरेको बुझिएको छ । खतिवडाले आफूलाई नियुक्त गर्दा ‘संवैधानिक व्यवस्थाबिरुद्ध हुने आरोप सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भएको,पार्टीका सबै नेता तथा कार्यकर्ताको मुख बोल्न छाडेको र अनेक विषय सार्वजनिक हुन थालेकाले’ यस्तो अवस्थामा पुनः मन्त्रीको कुर्सीमा बसेर काम गर्न गाह्रो हुने बताएका थिए ।
खतिवडाको कुरोले प्रधानमन्त्रीलाई नसोचेको अप्ठेरो मोडमा पुर्याएपछि बिहान एकाएक खुमलटारमा फोन थिचेर गौतमको सम्बन्धमा आफू तयार रहेको जानकारी दिनुभएको हो । हिजो बेलुकीको भेटमा प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभामा मनोनित हुने चाहना त्यागेर सहयोग गरिदिन हालसम्मकै धेरै अनुनय विनय गरेको बताइएको छ । जनआस्था
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।