काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ। बिहान ११ बजे बस्ने भनेको सचिबालयको बैठक दिउसो ३ बजेको लागि सारिएको छ ।
पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनलाई दुवै अध्यक्षले सचिवालयमा पेश गर्ने कार्यसूची रहेको बताईएको छ।
बालुवाटारमा बस्ने बैठकले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने वा डा. युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा टुंगो लगाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन्। तर, यस विषयमा पार्टीभित्र सहमति बन्न सकेको छैन। पार्टी उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएपछि ओली यतिखेर संकटमा परेका छन्। यस विषयमा टेलिफोन गरेरै केही दिनअघि गौतमले प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए।
१४ फाल्गुनमा पार्टीको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो। तर, ओलीले उक्त निर्णय कार्यान्वयनमा अग्रसरता नदेखाएपछि हालसम्म ६ महिनादेखि राष्ट्रिय सभाको एक सदस्य पद रिक्त छ।
सचिवालय बैठक बस्नुअघि बुधवार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा करिब २ घण्टा छलफल गरेका थिए। कार्यदलको प्रतिवेदन, सचिवालय बैठकको तयारी र राष्ट्रिय सभाको सदस्यमा गौतम वा खतिवडा कसलाई पठाउने भन्ने विषयमा छलफल भएको थियो।
तर, दुई अध्यक्षबीचको छलफलमा सहमति जुट्न भने सकेन। आज बस्ने सचिवालयको बैठकमा नै यस विषयमा छलफल गर्ने र त्यसैबाट निर्णयमा पुग्ने कुराकानी भएको बताइएको छ।
दाहालसँग राष्ट्रिय सभाको सदस्यमा कसलाई पठाउने भन्ने सहमति जुट्न नसकेपछि ओलीले लगत्तै उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए। तर, ओली–गौतम भेटमा पनि गौतमले आफूलाई राष्ट्रिय सभामा सिफारिस गर्नुपर्ने अडान राखेका थिए।
सचिवालय बैठकलगत्तै प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् पुनर्गठन गर्ने मनस्थितिमा छन् । २० गते जुनसुकै अवस्थामा पनि अर्थमन्त्रीको बारेमा प्रधानमन्त्री ओलीले निर्णय गर्नुपर्ने हुन्छ ।
किनभने सो दिन अर्थमन्त्री डा.युवराज खतिवडा मन्त्री बनेको ६ महिना पुग्दैछ । उनी सांसद होइनन् । संविधानतः सांसद नभएका व्यक्ति ६ महिना मात्र मन्त्री बन्न पाउने व्यवस्था छ ।
तर, त्यसका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमको स्वीकृति आवश्यक पर्छ । किनभने गत फागुन १४ गते नेकपा सचिवालय बैठकको निर्णयले वामदेवलाई राष्ट्रिय सभाको सांसद बनाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओली युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा छन् । तर, गौतमले सांसद नबन्ने निर्णय गरे भने मात्र खतिवडाका लागि मार्गप्रशस्त हुनेछ ।
त्यही भएर अहिलेसम्म खतिवडा राष्ट्रिय सभा सांसद मनोनीत हुन नसकेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठन हुँदा वामदेवको कोटामा एक मन्त्री बन्ने निश्चित रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।