काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई ठगेका छन् । आगामी महाधिवेशनका लागि छलफल गर्न सानेपामा जारी नेपाली कांग्रेसको बैठकमा सभापति देउवाले प्रधानमन्त्री ओलीको हर्कतको आलोचना गरेका हुन् ।
देउवाले बैठकमा दिएको जानकारीअनुसार असार १७ गते प्रधानमन्त्री ओलीले संवैधानिक आयोगहरुमा गर्ने नियुक्तिबारे छलफल गर्नुपर्ने छ भन्दै देउवालाई बालुवाटार बोलाएका थिए । प्रतिपक्षी दलको नेता भएका कारण देउवा संवैधानिक परिषदका सदस्य हुन् भने प्रधानमन्त्री ओली परिषदका अध्यक्ष हुन् ।
उक्त छलफलमा प्रधानमन्त्री ओलीले संसदको यही अधिवेशनबाट एमसीसी पास गर्ने प्रस्ताव देउवासित राखेका थिए । तर पछि त्यसो भएन ।
देउवाका अनुसार बालुवाटारको सो भेटमा प्रधानमन्त्री ओलीले भने, ‘एमसीसीलाई हाउसमा पेश गर्न सभामुख अग्नि सापकोटाले मान्दै मानेनन्, अब कार्यव्यवस्था समितिको बैठक राखौं अनि कांग्रेस र हामी मिलेर एमसीसीलाई बैठकको एजेण्डा बनाऔं । भोटिङमा लगेर बहुमतबाट पारित गरौं ।’
सानेपामा आयोजित पार्टीको बैठकमा सभापति देउवाले बालुवाटारको छलफलबारे रिपोर्टिङ गर्दै भने, ‘मलाई एमसीसी पास गरौं भनेर पठाएको भोलिपल्टै कसैलाई थाहा नदिई संसद अधिवेशन पो अन्त्य गरे । ओलीले मलाई ठगे ।’ सरकारले सभामुखसँग समेत सल्लाह नगरी असार १८ गते संसद बैठक स्थगनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।