काठमाडौं - देशभरिका होटेल व्यवसायीहरूको साझा संस्था ‘होटेल व्यवसायी महासंघ’ले लकडाउनका कारण व्यवसाय नै संकटमा परेको भन्दै सरकारसँग राहत र छुटको व्यवस्था गर्न माग गरेको छ ।
महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर लकडाउन अवधिभरिको घरभाडा पूर्ण रुपमा छुट गर्न माग गरेको छ । महासंघका अध्यक्ष हिराध्वज शाहले संक्रमणकाल रहेसम्मका लागि ५० प्रतिशतको छुट माग गरे ।
‘लकडाउन अवधिभरको घरभाडा पूर्ण रुपमा छुट र संक्रमणकालभरि ५० प्रतिशत छुटका लागि घरधनीलाई समेत राहत पुग्ने गरी बैंक ब्याजको कर्जा भुक्तानी समयावधि थप गर्नुका साथै उनीहरूले तिर्नुपर्ने घरबहाल कर र बैंकको ब्याज छुट तथा अन्य करहरू छुट गर्नका लागि स्थानीय तहसँगको समन्वयमा विशेष राहत कोषमार्फत सम्बोधन गरेर त्यसको वातावरण मिलाइयोस्’, विज्ञप्तिमा भनिएको छ ।
सामान्य अवस्थामा होटेल व्यवसाय नफर्किदासम्म बिजुली, पानी, टेलिफोन, इन्टरनेटलगायतको महसुलमा सहुलियतको व्यवस्था गर्न महासंघले माग गरेको छ । होटेल व्यवसायीहरूले लकडाउन र महामारीले व्यवसाय नै समस्यामा परेको भन्दै एक वर्षको कर र सबै प्रकारका राजश्वमा छुट माग गरेका छन् ।
व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने मुख्य स्रोत यही व्यवसाय मात्र भएको हुँदा जुनसुकै शीर्षकमा लिएको भए पनि उक्त ऋण तिर्ने समयावधि कम्तिमा दुई वर्ष थप गरी सो अवधिको ब्याजमा सहुलियत दर कायम गराइ साँवामा गाभिदिने व्यवथा गर्न माग गरेका छन् । होटेल व्यवसायीहरूले राज्यबाट अहिलेसम्म कुनै पनि किसिमको व्यवासयिक सुविधा नपाएको भन्दै तत्कालका लागि चालु व्यवसायलाई नै धितोको रुपमा मूल्यांकन गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरिएको छ ।
उनीहरूले व्यवसाय सञ्चालनका लागि आर्थिक समस्या परेको भन्दै सफ्ट ऋणको माग गरेका छन् । महासंघमा देशभर छरिएर रहेका ८० हजारभन्दा बढी होटेल व्यवसायीहरूलाई विद्यमान पर्यटन ऐनले सम्बोधन नगरेको भन्दै व्यवसायीहरूले संशोधनका क्रममा रहेको पर्यटन ऐन २०७६ मा होटेल व्यवसायी महासंघलाई पनि समेट्न माग गरिएको छ ।
महासंघका अध्यक्ष शाहले आफूहरूका माग सम्बोधन गर्न सरकारलाई दवाव दिँदै माग पूरा नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र गृहमन्त्री रामबहादुर थापालाई आफूहरूको समस्या समाधानका लागि पहल गर्न दवाव दिने उदेश्यले ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको शाहले बताए ।
अध्यक्ष शाहले होटेल व्यवसाय सञ्चालन गर्न लिइएको ऋण लकडाउन र महामारीका कारण तिर्न नसक्दा व्यवसायीहरू डिप्रेसनमा जानेदेखि आत्महत्यासम्मको अवस्थामा आउने हो कि भनेर महासंघ चिन्तित रहेको बताएका छन् । उनले ठूला र तारे होटेलहरूलाई सरकारले सहुलियत दिए पनि महासंघमा आबद्ध होटेलहरूलाई राहत र छुट नदिएको भन्दै आक्रोश प्रकट गरेका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष दिनेकुमार चुकेले होटेल व्यवसायमा लकडाउन र कोरोना भाइरसको महामारीका कारण १९ अर्ब रुपियाँ नोक्सानी भएको बताएका छन् ।
उनले होटेल व्यवसाय गर्नका लागि व्यवसायीहरूले बैंकबाट १ खर्बभन्दा धेरै रकम ऋण लिएको बताए । महासंघका सचिव शंकर भण्डारीले सरकारलाई कोरोनाको संक्रमणका बेला आफूहरूले क्वारेन्टिनका लागि होटेल निःशुल्क दिने भनेर चाबी नै दिन तयार भएको अवस्थामा अहिले आएर सरकारले व्यवसायीहरूका समस्या नबुझिदिँदा आफूहरू संकटमा परेको बताए । उनले यस्तो महामारीका बेला सरकारले व्यवसायीहरूलाई राहत, छुट र विभिन्न कार्यक्रमहरू दिएर व्यवसायको वातावरण बनादिनुपर्ने बताए ।
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
संघीय गणतन्त्र नेपालको ७७ वटै जिल्लामा रहेका करिब ८० हजार होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघ नेपाल २०६७ सालमा नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी आफ्ना मातहतका प्रदेश संघ, तथा जिल्ला संघमा आवद्ध व्यवसायीहरुको हित प्रवर्धन एवं समस्या समाधान गर्दै राष्ट्रको पर्यटन प्रवर्धन एवं आर्थिक सम्वृद्धिको बाटोमा अग्रसर हुँदै आईरहेको कुरा सर्व विदितै छ । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुसँग समन्वय र सहकार्य गर्दै व्यवसायीहरुको हक हित प्रवर्धन र देशको पर्यटन विकासको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै यस महासंघ आफ्नो विधानले निर्दिष्ट गरेको लक्ष र उद्देश्यका साथ अगाडि बढिरहेको कुरा सबैमा अवगत गराउन चाहन्छौँ ।
कोविद १९, कोरोना भाईरसका कारण विश्व आक्रान्त बनिरहँदा सोही महामारीको चपेटामा परेको हाम्रो देश नेपालमा पनि विगत ३ महिनादेखि लकडाउन जारी छ । जसलाई हामीले पूर्ण रुपमा पालना गरी राज्यको नीति तथा निर्देशनलाई सहजिकरण गर्दै सहयोग पुर्याउँदै आइरहेका छौँ । गत डिसेम्बर २०१९ मा चीनबाट देखा परेको कोभिद १९ आजका मितिसम्म आईपुग्दा विश्वका करिब २१५ देशमा फैलिईसकेको छ भने करिब ८५ लाख भन्दा बढी मानिसहरु संक्रमित भएको विश्व तथ्याङ्क छ । नेपालमा दुई जना संक्रमित हुँदा शुरु गरिएको लकडाउन अहिले ३ महिना पूरा भईसकेको छ । तथापि संक्रमण रोकिनुको साटो दिनानुदिन बढ्दै गईरहेको छ जसका कारण हरेक तह र तप्काका मानिसहरु झन बढी त्रसित हुन थालेका छन् ।
एकातिर कोरोना भाईरसको महामारीका कारण हरेक व्यक्ति, व्यवसायी, उद्योगी, मजदुर, लगायत सिंगो समुदाय नै उच्च जोखिममा छन् भने अर्कातिर सरकारले जारी गरेको लकडाउनका कारण व्यापारी व्यवसायीहरु आफ्ना सम्पूर्ण व्यापार व्यवसाय बन्द गरेर घरभित्र बस्न बाध्य मात्र छैनन् महिनौँसम्म बन्द गर्नु पर्दा तहस नहस भएका आफ्ना व्यापार व्यवसायका कारण कतिपय व्यवसायीहरु यस क्षेत्रबाट पलायन हुन थालिसकेका छन् । राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन व्यवसाय त झन् पूर्ण रुपमा धारासायी हुने खतरा बढ्दै गईरहेको छ । यस क्षेत्रका अधिकाँश व्यवसायीहरुको व्यवसाय अहिले पूर्णविराम लाग्ने अवस्थामा छ । कोरोनाका कारण सिर्जित समस्याले गर्दा देशको अर्थतन्त्र नै धारासायी बनेको वर्तमान परिप्रेक्षमा पर्यटनको मूल आधारको रुपमा रहेको होटल व्यवसाय पूर्ण रुपमा धारासायी भयो भने यसले सिंगो देशको अर्थतन्त्रमा नै दीर्घकालिन रुपमा नकारात्मक असर पार्ने कुरा निश्चित प्रायः छ ।
पत्रकार मित्रहरु,
वर्तमान विषम परिस्थितिमा देशभरका होटल व्यवसायीहरुलाई बचाईराख्न र सिंगो होटल व्यवसायलाई नै पूर्ण रुपमा धारासायी हुनबाट बचाउन यस महासंघले यसअघि पटक पटक स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारलाई विभिन्न मागहरु सहितको ज्ञापन पत्र बुझाएर सुसूचित गराईसकेको छ । तर संघीय सरकारले ल्याएको बजेटमा हाम्रा मागहरु सम्बोधन हुनेखालका कुनै पनि कार्यक्रम नआउनुले सरकारले यस क्षेत्रको उपेक्षा गरेको हामीले महशुस गरेका छौँ । देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका करिब ८० हजार होटल व्यवसायीहरुलाई उपेक्षा गर्नु राज्यको तर्फबाट ठूलो भुल हो । त्यसका बाबजुद पनि हामी अझै सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ र वर्तमान संकटले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योग र त्यस अन्तर्गत पनि बिशेष रुपमा प्रभावित होटल व्यवसायलाई बचाईराख्नका लागि तल उल्लेखित राहत प्याकेज उपलब्ध गराई जनजीवन सामान्य अवस्थामा नआईपुग्दासम्मका लागि सहयोग उपलब्ध गराउन संघीय सरकार समक्ष हार्दिक अपिल गर्दछौँ । सोही अनुरुप महासंघ निम्नलिखित विषयहरुमा संघीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल यी मागहरु सम्बोधनका लागि अनुरोध गर्दछ । साथै महासंघले अगाडि सारेका यी मागहरु र व्यवसायिक हक हितका लागि महासंघले गर्ने सबै कार्यक्रमहरुमा नेपाल होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ केन्द्रीय समिति तथा लोकतान्त्रिक होटल व्यवसायी संघको समेत ऐक्यवद्धता रहेको अवगत गराउन चाहन्छौँ ।
हाम्रा मागहरुः
१. वर्तमान अवस्थामा होटल व्यवसायीहरु सबैभन्दा बढी घरभाडाको मारमा परेकाले यस लकडाउन अवधिभरको घरभाडा पूर्ण रुपमा र संक्रमणकाल रहुन्जेलसम्मका लागि ५०% छुटको व्यवस्था गर्न आग्रह गर्दछौँ । साथै उक्त छुटका लागि घरधनीहरुलाई समेत राहत पुग्ने गरी घरधनीहरुको बैंकको कर्जा भुक्तानी समयावधि थप गर्नुका साथै उनीहरुले तिर्ने घरबहाल कर र बैंकको ब्याज छुट तथा अन्य करहरु समेत छुट गर्नका लागि स्थानीय निकायसँगको समन्वयमा विशेष राहत कोष मार्फत सम्बोधन गरेर वातावरण सहज बनाउने व्यवस्था मिलाईयोस् ।
२. हाम्रो व्यवसाय अरु व्यवसाय जस्तो लकडाउन खुल्नासाथ पहिलेको अवस्थामा नै सुचारु भई सामान्य अवस्थामा आउने व्यवसाय नभएको र संक्रमण अवधिभर नै व्यवसायमा भारी असर पर्ने हुँदा बिजुली पानीको महशुल कम्तिमा १ वर्षका लागि छुट र टेलिफोन, इन्टरनेट लगायतका महशुलमा विशेष सहुलियतको व्यवस्था मिलाईयोस् ।
३. अहिलेको महामारीले सबैभन्दा बढी असर पारेको यस क्षेत्रका व्यवसायीहरुलाई राहत स्वरुप एक (१) वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिने व्यवस्था मिलाइयोस् ।
४. यस क्षेत्रमा संलग्न व्यवसायीहरुले बैंक र वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने मुख्य श्रोत यही व्यवसाय मात्र भएको हुँदा जुनसुकै शीर्षकमा लिएको भए पनि उक्त ऋण तिर्ने समयावधि कम्तिमा २ वर्ष थप गरी उक्त अवधिभरको ब्याजमा सहुलियत दर कायम गराई साँवामा गाविदिने व्यवस्था गरियोस् ।
५. यस क्षेत्रका व्यवसायीहरुले राज्यबाट अहिलेसम्म कुनै पनि किसिमको व्यवसायिक सुविधा नपाएकाले तत्कालका लागि चालु व्यवसायलाई नै धितोको रुपमा मूल्याङ्कन गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइयोस् ।
६. वर्तमान विषम परिस्थिति पश्चात् पनि व्यवसायलाई सहज रुपमा सञ्चालन गर्नका लागि न्यून ब्याजदरमा क्यात ीयबल को व्यवस्था गरियोस् ।
७. कोरोना संक्रमण शुरु हुने बित्तिकै आफ्ना मातहतका सम्पूर्ण होटलहरु राज्यलाई आवश्यक परेमा बिना शुल्क क्वारेन्टाईनका लागि दिन तयार रहेको कुरा सार्वजनिक गरेको महासंघलाई बाइपास गरेर ६ महिनाका लागि सबै होटल बन्द गर्ने भनेर सार्वजनिक सूचना नै जारी गर्ने निकायसँग सम्झौता गरेर नेपालीहरुलाई सस्तो दर रेटी छाडी महँगो दर रेटमा बस्न किन बाध्य पारियो ? स्पष्ट पारियोस् ।
८. खाडी तथा मलेशियाबाट आउने नेपालीहरुलाई क्वारेन्टाईनको नाउँमा उनीहरु कै खर्चमा जबर्जस्ती तारे होटलमा महँगो रेटमा बस्न बाध्य पारिएको छ । उक्त निर्णयमा तत्काल पुनर्विचार गरी उनीहरुलाई आ–आफ्नो ईच्छा र स्तर अनुसारका होटलहरुमा क्वारेन्टाईनका लागि बस्न पाउने अधिकार प्रदान गरियोस् ।
९. राज्यले अत्यावश्यक सेवामा राखेको तर लामो समयदेखि बन्द रहेका होटल व्यवसायलाई सरकारले जारी गरेको मापदण्ड अनुसारका सावधानीहरु अपनाएर खोल्न पाउने व्यवस्था तुरुन्त लागु गरियोस् ।
१०. लकडाउनका कारण यस क्षेत्रबाट बिस्थापित भई बेरोजगार भएका श्रमिक तथा मजदुरहरुलाई पुनर्ताजगी तालिमको व्यवस्था गरी रोजगारीको अवसर सिर्जना गरियोस् ।
११. मूलतः पर्यटनको मूल आधार तथा सार्वजनिक प्रकृतिको सेवा प्रदायक व्यवसायको रुपमा रहेको होटल व्यवसायमा हुन सक्ने संक्रमणको जोखिम र त्यसको न्यूनिकरणका लागि आवश्यक पर्ने स्वास्थ्यसँग सम्बन्धी सामाग्रीहरु सहुलियतमा उपलब्ध गराउने व्यवस्था गराईयोस् ।
१२. संक्रमणको जोखिम बढ्दै जाँदा वर्तमान अवस्था लम्बिँदै जानसक्ने र यसका कारण आर्थिक भार दिनानुदिन झन झन बढ्न गई यस क्षेत्रका व्यवसायीहरु पलायन हुने अवस्था टड्कारो रुपमा देखिएकाले तत् पश्चात् राज्यमा आईपर्न सक्ने भयावह स्थितिलाई मध्यनजर गरी त्यसतर्फ पनि राज्यको ध्यान आकृष्ट गराई सोही बमोजिमको योजना तर्जुमा गरियोस् ।
१३. यस महासंघमा आवद्ध देशैभरि छरिएर रहेका ८० हजार भन्दा बढी होटल व्यवसायीहरुलाई विद्यमान पर्यटन ऐनले सम्बोधन नगरेको हुँदा अहिले संशोधनको क्रममा रहेको पर्यटन ऐन २०७६ मा यस महासंघलाई समेत समेट्ने गरी व्यवस्था गरियोस् ।
१४. संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तथा अन्य आवश्यकीय नीति नियमको तर्जुमा गर्न बनाईने समिति तथा उपसमितिहरुमा यस महासंघ तथा मातहतका संघहरुको अनिबार्य प्रतिनिधित्व गराईयोस् ।
विश्व महामारीले आक्रान्त व्यवसायीहरुलाई जोगाईराख्न तत्कालका लागि अत्यन्तै अपरिहार्य देखिएका उल्लेखित मागहरुको कार्यान्वयनका लागि महासंघ जोडदार माग गर्दछ । साथै वर्तमान संकटले सबैभन्दा बढी प्रभावित यस क्षेत्रका व्यवसायीहरुको मागहरुप्रति राज्यले समयमै उचित ध्यान पु¥याओस् । अन्यथा समय मै यसको सुनुवाई भएन भने आगामी दिनमा पलायनको संघारमा रहेका देशभरका लाखौँ व्यवसायीहरु बाध्यतावस आन्दोलनमा जानुपर्ने परिस्थितिको सिर्जना हुने व्यहोरा समेत ध्यानाकर्षण गराउन चाहन्छौँ ।
त्यसैगरी महासंघले अघिसारेका मागहरुका सम्बन्धमा यस महासंघ र राज्यका आधिकारिक निकायहरुको आपसी सहमति भएमा आवश्यक पुनरावलोकन गर्न सकिने समेत अवगत गराउन चाहन्छौँ । साथै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्दै पर्यटन विकासका साथै राज्यमा रोजगारी सिर्जनाको अभियानमा यस होटल व्यवसायी महासंघ नेपाल सदैव लागिपर्ने विश्वास दिलाउँन चाहन्छौँ ।
अन्त्यमा,
पर्यटन विकास र हालको महामारी रोग नियन्त्रणको अभियानमा राज्यसँग सदैव एकाकार भएर अगाडि बढ्ने प्रतिवद्धताका साथ यस महासंघले अगाडि सारेका तमाम व्यवसायीहरुका समस्यालाई सरकारले यथाशीघ्र सम्बोधन गर्नेछ भन्ने पूर्ण विश्वास लिएका छौँ ।
धन्यवाद ।
अध्यक्ष
हिराध्वज शाह
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।