काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्सी जोगाउन उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भनेर गरेको षड्यन्त्र धरापमा पर्ने देखिएको छ ।
सांसद नै नभएका गौतमलाई प्रधानमन्त्री बनाउने भनेर ओलीले गरेको प्रस्तावको फन्दामा नपर्ने संकेत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिएको छ ।
कोरोना भाइरसको महामारी समाधान भएपछि उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने र माधवकुमार नेपाल तेस्रो अध्यक्ष हुने भनेर ओलीले गरेको प्रस्ताव विपक्षीले अस्वीकार गर्ने जनाएका छन् । समाजवादी पार्टी फुटाउन ल्याएको अध्यादेश प्रकरणसँगै पार्टीमा एक्लिएका ओलीले बुधवार साँझ बसेको नेकपा सचिवालय बैठकमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने कार्ड फालेका थिए ।
ओलीको कार्ड बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन वा पार्टीमा देखिएको विवाद समाधान गर्न नभएर प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच भएको मोर्चाबन्दी भाँड्न आएको विश्लेषण हुन थालेको छ ।
नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले ओलीको प्रस्ताव पार्टीमा नेताहरूबीच भएको मोर्चाबन्दी भाँड्न क्षेप्यास्त्र आक्रमण भएपनि खेर जाने बताए । ‘प्रधानमन्त्री ओली राजनीतिका असली खेलाडी हुन्,’ नेता पन्तले भने, ‘प्रधानमन्त्री हुन सक्ने तीन नेता (प्रचण्ड, झलनाथ माधव नेपाल) लाई छाडेर प्रधानमन्त्री हुने बाटो नै छोडिएका नेताको नाम लिनु भनेको बनाउनका लागि होइन ।’
केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछाड्ने मनसायका साथ प्रस्ताव ल्याएकाले त्यसलाई गम्भीररुपमा नलिइने पन्तले बताए । तर वामदेव गौतमलाई साँच्चै प्रधानमन्त्री बनाउने स्पष्ट प्रस्ताव आए आफूहरूको सहमति रहने पन्तले बताए । प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट आफू चुनाव हारेको नभई पार्टीबाटै हराइएको भनेर बामदेवले स्थायी कमिटीमा भनेको बताउँदै पन्तले फेरि हराउँदैनन् भन्ने आधार नभएको बताएका छन् ।
कोरोना भाइरसको महामारी सकिएर वामदेवका लागि उपचुनाव गराउने क्षेत्र खोज्दाखोज्दै प्रधानमन्त्री ओलीले डेढ–दुई वर्ष बिताइदिने नेता पन्तको विश्लेषण छ ।
उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गर्ने पार्टीको निर्णय नमानेका ओलीले अहिले प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको सुन्दा आश्चर्य लागेको नेकपाका एक नेताले बताए ।
स्थायी कमिटीको बैठक माग गर्दै हस्ताक्षर गरेकामध्ये एक नेताले भने, ‘यस्ता नहुने–नहुने प्रस्ताव आउँदा सरकार र पार्टीले जनतामा थप बदनामी कमाउनेबाहेक अरु केही हुँदैन ।’
ओलीले बुधवार आफू पक्षका सांसदको हस्ताक्षर अभियान चलाएपनि बहुमत नपुगेपछि अर्काे अस्त्र प्रहार गरेका थिए । ओलीको अस्त्रपछि नेकपा सचिवालय बैठक बैशाख २० गतेसम्म स्थगित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।