काठमाडौं – शिक्षा, विज्ञान तथा मन्त्रालयले लकडाउनको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको २ हप्तापछि १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने गरी तयारी गरेको छ ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) ले परीक्षाका विषयमा आईतवार गरेको भिडियो छलफलमा सचिव दाहालले लकडाउनबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने बताए ।
अब परीक्षा भएमा विद्यालयलाई सामाजिक दूरीसहित बस्ने गरी नजिक–नजिक परीक्षा केन्द्र राख्नुपर्ने सुझाव पनि दिइएको छ । मन्त्रालयले कोरोनाको जोखिम कम भएमा अरु पूर्व निर्धारित परीक्षा केन्द्रका उपकेन्द्र निर्धारण गरी परीक्षा गर्ने र जोखिम कायम रहेमा परीक्षा प्रणालीका अन्य विकल्पमा समेत राखिएको दाहालले बताएका छन् ।
पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वको उच्चस्तरीय समिति मातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले र समितिले अध्ययन गरिरहेको छ । शिक्षाविद् डा. मनप्रसाद वाग्लेले भने विद्यार्थीको वार्षिक मूल्यांकनका आधारमा पनि ग्रेड निर्धारण गर्न सकिने भन्दै परीक्षा गर्नैपर्ने भएमा सामाजिक दूरी कायम गर्ने वा एकैदिन ४ वटा मुख्य विषयको एकै परीक्षा लिएर बाँकी विषयको आन्तरिक मूल्यांकन गर्न सकिने सुझाव दिएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले माथिल्लो कक्षामा प्रवेश परीक्षा पनि लिइने भएकाले १० कक्षाको एसइई परीक्षालाई हाउगुजीका रुपमा कायम राखिराख्न नपर्ने तर्क राखे । स्थानीय तहको समन्वयमा ३ दिनभित्र विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा प्राप्तांक तयार गर्न सकिने उनले बताए ।
गत चैत ६ गतेदेखि १७ गतेसम्म हुने गरी सबै तयारी पूरा भएपनि कोरोनाको जोखिमका कारण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते साँझको बैठकले परीक्षा स्थगनको निर्णय गरेको थियो । परीक्षाका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने १ हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । बोर्डले गत चैत ८ गतेदेखि हुने १२ कक्षा र चैत २५ गतेदेखि हुने भनिएको ११ कक्षाको परीक्षा पनि लकडाउनका कारण स्थगन गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।