काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणको महामारीका लागि चीन जिम्मेवार देखिएमा उसले त्यसको परिणाम भोग्ने खुला धम्की दिएका छन् ।
‘यदी त्यो गल्ती थियो, त्यो गल्ती हो । तर, उनीहरू यसबारेमा जानकार थिए भने त्यसको परिणाम भोग्नुपर्नेछ,’ ट्रम्पले नियमित ब्रिफिङमा शनिवार भनेका छन् ।
ब्रिफिङमा उनले अमेरिकाले के कदम चाल्ने भन्ने बारेमा भने केही बताएका छैनन् । यसअघि बेलायतले पनि चीनले कोरोना भाइरससम्बन्धी ‘कडा प्रश्नहरुको सामना गर्नुपर्ने’ बताएको थियो ।
ट्रम्प र वरिष्ठ सहयोगीहरुले चीन कोरोना भाइरसबारे पारदर्शी नभएको भन्दै उसको तीखो आलोचना गर्दै आइरहेका छन् । यसै हप्ता ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको पक्षपाती भएको भन्दै उसलाई दिने अमेरिकी सहयोग रोकेका छन् ।
विश्वका दुवै ठूला अर्थतन्त्रबिच कोरोना भाइरसलाई लिएर पटक–पटक सार्वजनिक रुपमै आरोप–प्रत्यारोप हुँदै आएको छ । ट्रम्पको आरोपलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रतिवाद गर्दै आएका छन् । पछिल्लो आरोपबारे कसरी प्रतिक्रिया जनाउँछन् भनेर हेर्न बाँकी छ ।
ट्रम्पले सुरूमा कोरोना भाइरसमा चीनले गरेको नियन्त्रण प्रयासको खुलेर तारिफ गरेका थिए तर पछि उनी र उनका सहयोगीहरूले यसलाई ‘चिनियाँ भाइरस’को उपनाम दिएर विवाद निम्त्याएका थिए । दुवै देशबीच गत वर्ष केही समय चलेको व्यापार युद्धपछि कृषि व्यापारबारे भएको पहिलो चरणको सहमतिलाई उल्लेख गर्दै ट्रम्पले ‘उनीहरूले यस्तो गर्दासम्म’ चीन–अमेरिका सम्बन्ध राम्रो भएको बताएका छन् ।
कोरोना भाइरसको महामारी ‘भुलवश’ नियन्त्रण बाहिर गएको थियो वा जानाजान गरिएको थियो’ भन्ने अहिलेको प्रश्न रहेको भनाइ उनले राखेका छन् । ‘यी दुईबीच ठूलो अन्तर छ,’ ट्रम्पले भने ।
ट्रम्पले वुहान भाइरोलोजी प्रयोगशालाका बारेमा यसैहप्तामा अमेरिकी टेलिभिजन फक्स न्यूजले देखाएको रिपोर्टलाई उल्लेख गर्दै यस्तो बताएका हुन् । फक्सले यसै साता चीनले भाइरसको क्षमता र त्यससँग लड्न सक्ने आफ्नो क्षमता परीक्षण गर्न भाइरस फैलाएको रिपोर्ट प्रसारण गरेको थियो ।
ट्रम्पले आफ्नो सरकारले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको हो कि होइन भन्नेबारे खोजी गरिरहेको बताएका छन् । शनिवारको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले पुनः भाइरसका कारण चीनमा भएको मृत्युमाथि उसले शुक्रवार पेश गरेको नयाँ तथ्यांकमा पनि शंका व्यक्त गरेका छन् ।
शुक्रवार चीनले वुहानको मध्यशहरमा १ हजार ३ सय व्यक्ति कोरोनाबाट मरेको जानकारी दिएको छ । उसले वुहानमा मरेका यी व्यक्तिहरू पहिले नगनिएको बताएको थियो । यसैगरी चीनले मृतक संख्या ढाकछोप गरेको भन्ने आरोपको खण्डन पनि गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।