ओखलढुंगा – दशैंका बेला पिङ उद्घाटन गरेर आलोचित भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवार फेरि चर्चामा छाएका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएका बेला कम्युनिस्ट सांसद सुनुवारले गृहजिल्ला ओखलढुंगामा एक जना व्यक्तिलाई मास्क मुखमा लगाइदिएर मास्क वितरण गरेको तस्वीर सार्वजनिक भएको छ ।
सामाजिक दूरी कायम गरेर कोरोनाबाट बच्नुपर्ने भएपनि सांसद सुनुवारले सर्वसाधारणको नजिकै गएर मास्कमा हात लगाउँदै उद्घाटन गरेको दृश्यले देख्नेलाई लाज भएको छ । समय–समयमा उट्पट्याङ कार्य गर्दै आएका सांसद सुनुवारले बाटोमा हिँड्दै गरेका बेला क्लबका पदाधिकारीले भनेपछि स्थानीय व्यक्तिलाई मुखमा मास्क लगाएर उद्घाटन गरिदिएका थिए ।
मंगलवार सांसद सुनुवारले ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा पलापु युवा क्लबले वितरण गरेको मास्कलाई एक व्यक्तिलाई मुखमा लगाएर उद्घाटन गरेको सुमन घिमिरेले फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।
आफ्नै जिल्लामा अर्कैले बनाएको विकासका कार्यक्रम र पुलको उद्घाटन गरेको भनेर आलोचित हुँदै आएका सांसद सुनुवाले मास्क वितरण उद्घाटन गर्न समेत भ्याएको भन्दै आलोचना भएको छ । स्थानीयले लकडाउनका बेला आफ्ना जनप्रतिनिधिले राहत ल्याउनुपर्नेमा मास्क उद्घाटन गर्दै हिँडेको भनेर असन्तुष्टि व्यक्ति गरेका छन् ।
मास्क वितरण कार्यक्रममा नेकपाका ओखलढुंगा जिल्ला कमिटी सदस्य हरिप्रसाद घिमिरे, नेकपाका जिल्ला सल्लाहकारद्वय मेघबहादुर श्रेष्ठ र भवानप्रसाद घिमिरे, नेकपाका कार्यकर्ता बलबहादुर श्रेष्ठ, सुवास श्रेष्ठ, सौजनराज घिमिरे लगायतको उपस्थित थियो ।
युवा क्लबले स्वास्थ्य चौकी पलापु र स्वास्थ्य इकाई चम्पादेवी–२ लाई २००८ पिस मास्क, प्रहरी चौकरी पलापु ४०० मास्क हस्तान्तर गरेको भनेर कम्युनिस्ट पार्टीका कार्यकर्ता सुमन घिमिरले फेसबुकमा लेखेका छन् ।
जिल्लाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष कुलबहादुर श्रेष्ठ र वडा नम्बर २ का वडाध्यक्ष विष्णु पुलामीले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरेर सरकारको नीति विपरीत सांसद यज्ञराज सुनुवारले मास्क वितरण गरेको आरोप लगाएका छन् ।
सरकारले स्थानीय तहबाट एकद्वार नीतिमार्फत कुनै पनि सहायता वितरण गर्न दिर्नेशन दिएको छ । आफ्नै सरकारको नीतिलाई उल्लंघन गरेर सांसद सुनुवारले व्यक्तिलाई मास्क लगाइदिएर उद्घाटन गरेको भन्दै जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।
दुवै वडाध्यक्षले सांसद सुनुवार र पलापु युवा क्लबले वडामा २ हजार ४ सय मास्क वितरणको गरेको जानकारी आफूहरूलाई नरहेको जनाएका छन् । वडाध्यक्षद्वय श्रेष्ठ र पुलामीले वडामा वितरण गरिने कुनै पनि राहत वडा कार्यालयलाई दिन सांसद सुनुवार सहितका संघसंस्था र व्यक्तिहरूसँग आग्रह समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।