काठमाडौं – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जाँचका लागि प्रयोग गरिने किट चीनले नक्कली वितरण गर्ने गरेको पाइएपछि स्पेन सरकारले प्रतिबन्ध लगाएको छ ।
स्पेनमा चिनियाँ कम्पनीले निर्माण गरेको कोरोना भाइरस परीक्षण गर्ने किटको प्रयोगमा रोक लागेको छ ।
अनुसन्धानले चिनियाँ किट विश्वसनीय नरहेको निष्कर्ष निकालेसँगै स्पेनको राजधानी मेड्रिड शहरमा चिनियाँ किटको प्रयोगमा रोक लगाइएको छ ।
स्पेनमा कोरोना भाइरसका संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेकाले चिनियाँ किटमाथि गम्भीर आशंका गरिएको छ । स्पेनमा कोरोना भाइरसको संक्रमितको संख्या ६४ हजार नाघिसकेको छ भने झण्डै ५ हजार व्यक्तिको मृत्यु भएको छ ।
स्पेनको शोधकर्ता संस्था एसईआईएमसीले आफ्नो वेबसाइटमा चीनको शेन्जेनमा रहेको बायोइजी बायोटेक्नोलोजीले निर्माण गरेको ‘नोज स्वाब’को एक्युरेसी ३० प्रतिशतभन्दा कम देखिएको दाबी गरेको छ ।
स्पेनिस पत्रिका एल पेइसले मेड्रिड सरकारले बायोइजीले निर्माण गरेको किटमा रोक लगाउने निर्णय गरेको जनाएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले त्रुटि देखिएका किट फेर्न बायोइजीलाई निर्देशन समेत दिएको छ । स्पेनले कम्पनीसँग ३ लाख ४० हजार परीक्षण किटको माग गरेको थियो ।
चिनियाँ कम्पनीले भने किट नक्कली भएको आरोपमाथि कुनै प्रतिक्रिया जनाएको छैन । पत्रिकाले उल्लेख गरेअनुसार बायोइजीले आफ्नो उत्पादनले ८० प्रतिशत सही नतिजा दिने दाबी गरेको छ । तर जाँचमा भने त्यस्तो नपाइएको एसईआईएमसीको अध्ययनमा देखिएको छ ।
यसअघि चेक गणतन्त्रमा पनि चिनियाँ कम्पनीले निर्माण गरेको मेडिकल उपकरणको विषयमा प्रश्न उठ्दै आएको छ । नेपालले समेत चीनबाटै केही किट, उपकरण र उपचार सामग्री ल्याउने तयारी गरेका समाचार सार्वजनिक भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।