काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि आफू १ हप्तामै अस्पतालबाट फर्केर देश चलाउन सक्ने संकेत गरेका थिए ।
तर मिर्गाैला प्रत्यारोपण गरेपछि पनि प्रधानमन्त्री ओली ६ महिनाअघि पूरै सक्रिय हुन नसक्ने चिकित्सकले खुलासा गरेका छन् ।
ओली पूरै सक्रिय हुने ६ महिनादेखि एक वर्षसम्म लाग्ने चिकित्सकको राय छ । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई सामान्य मान्छे जसरी पूरै सक्रिय हुन ६ महिना लाग्ने उनका निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिएकी छन् ।
‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पूरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्नसक्छ । तर नियमित काम गर्न समस्या हुन्न,’ उनले भनिन्, ‘संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।’ केपी ओली सरकारले अपेक्षाकृत काम गर्न नसकेको भनेर जनस्तरमा आलोचना भइरहेका बेला बिरामी अवस्थाकै प्रधानमन्त्रीले कहिलेसम्म देश सञ्चालन गर्ने भनेर जनताले प्रश्न गर्न थालेका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन मंगलवार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई अस्पताल राख्न परिवारकै सदस्यबाट आग्रह आएको खुलासा गरिन् । ओलीको परिवारमा श्रीमती राधिका शाक्य रहेकी छन् ।
‘प्रधानमन्त्रीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ, उहाँहरूले तयारीको समय पनि माग्नुभयो, प्रधानमन्त्री त तुरुन्तै जान चाहनुहुन्छ,’ उनले भनिन् ।
निजी चिकित्सक डा. शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे आफूहरू विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने समेत बताइन् । शाहको अभिव्यक्तिले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्बिने देखिएको छ ।
‘जबसम्म हामी विश्वस्त हुदैनौं, तबसम्म डिच्चार्ज गर्दैनौं, प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु,’ उनले स्पष्ट पारिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।