काठमाडौं – नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई बदनाम गर्ने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति दिएको भोलिपल्ट अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अगाडि आएका छन् ।
प्रचण्डसँगै हिंसात्मक युद्धमा सहभागी भएका तथा हाल समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले प्रचण्डको अभिव्यक्ति सही भएको बताउँदै गिरिजाबाबुमाथि संगीन आरोप लगाएका छन् ।
प्रचण्डले जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गिरिजाबाबुले ठूल्ठूला र सदरमुकाममा फौजी आक्रमण गर्न भन्ने गरेको अभिव्यक्ति दिएका थिए । प्रचण्डको अभिव्यक्तिको कांग्रेसले घोर विरोध गरेको छ ।
शुक्रवार प्रतिनिधिसभा भवन बाहिर पत्रकारसँग कुरा गर्दै डा. भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन बिथोल्नका स्व. गिरिजाबाबुले तत्कालीन माओवादीलाई आग्रह आरोप लगाए । १२ बुँदे समझदारीमा नै कांग्रेस लगायतका ७ दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालीन माओवादीले फौजी ढंगले अघि बढ्ने सहमति भएको समेत बाबुरामले बताएका छन् ।
प्रचण्डप्रति लक्षित गर्दै बाबुरामले भने, ‘उहाँको बानी नै सानो कुरालाई पनि बढाइचढाई गरेर प्रस्तुत गर्ने छ, उत्तेजना फैलाउने स्वभाव छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरूले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो ।’
त्यतिबेला माओवादीले युद्धविराम भंग गरेर अगाडि बढ्ने निर्णय गर्दा गिरिजाबाबुले ठोक्नुपर्यो भनेको समेत डा. भट्टराईले आरोप लगाए । ‘पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन । हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा गिरिजाबाबुले अझै ठोक्नुपर्यो भनेर भन्नुभएको हो,’ नेता भट्टराईले भने, ‘लौन कारवाही अगाडि बढाउनुपर्यो, उहाँले भनेको हो म पनि साक्षी थिए । १–२ पटक भनेको कुरालाई युद्धभर भनेजस्तो गरी प्रस्तुत गर्नुभएन । नगरपालिका निर्वाचन बिथोल्न अलिअलि फौजी कारवाही बढाउनुपर्यो भन्नुभएको हो ।’
तत्कालीन माओवादीले सञ्चालन गरेको हिंसात्मक ‘जनयुद्ध’ दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा बिहीवार आयोजित कार्यक्रममा प्रचण्डले कांग्रेसका तत्कालीन सभापति कोइरालाले नै माओवादीलाई ‘ठूल्ठूला फौजी आक्रमण गर्न’ भन्ने गरेको बताएका थिए ।
‘कोइराला र मेरोबीच लगातारजस्तो, झण्डै–झण्डै दिनदिनै जस्तो कुराकानी हुन्थ्यो । उहाँले हामीलाई फौजी आक्रमण अझै बढाइदिनुपर्यो, सदरमुकाम हान्नुपर्यो, अझै ठूल्ठूलो हमला गर्नुपर्यो भन्नुहुन्थ्यो । यो बढो विचित्रको थियो । यस्तो संसारमा कमै हुन्छ,’ उनले भनेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।