काठमाडौं - कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले विश्व खाद्य कार्यक्रमको जागिर खान जानका लागि राजीनामा दिइसकेका छन् ।
उनले राजीनामा दिइसकेपछि संघको कृषि सचिवमा बढुवा हुनका लागि बागमती प्रदेशका कृषि सचिव योेगेन्द्रकुमार कार्की शक्तिकेन्द्रलाई प्रभावित पार्न रातदिन लागेका छन् । कृषि र पशुपंक्षी मन्त्रालयमा दुई सचिवमध्ये जीसीले राजीनामा दिए पनि प्रकाश माथेमा छन् । उनी पशुपंक्षी हेर्ने सचिव थिए ।
संविधान जारी हुनुअघि कृषि र पशुपंक्षी अलग मन्त्रालय थिए । संविधान जारी भएपछि ती दुई मन्त्रालय गाभिएका थिए । मन्त्रालय गाभिएपछि दुई सचिवले काम गर्दै आएका थिए । अर्थ मन्त्रालयमा बाहेक अन्यत्र उद्योग, बाणिज्य तथा आपूर्तिमा मात्र दुई सचिव छन् ।
कृषि र पशुपंक्षीमा दुई सचिव चाहिन्छ भन्दै कार्की ३ नम्बर प्रदेशको मन्त्रालयका काम नै अलपत्र छाडेर काठमाडौंका नेताहरुकोमा धाइरहेका छन् । कृषि मन्त्रालयमा भ्रष्टाचार र बेथितिका सर्जक मानिने सहसचिव कार्कीलाई सचिव कुनै हालतमा बनाउनु नहुने कृषिको उन्नति चाहनेहरुको भनाइ छ ।
कृषि मन्त्रालयको कार्यभार नेकपाका सैद्धान्तिक नेता घनश्याम भूसालले सम्हालेका छन् । उनी स्वच्छ छविका नेता मानिन्छन् । तर, उनको मन्त्रालयको प्रशासनिक नेतृत्वमा कार्की जस्ता बदनाम पात्रको आगमन भयो भने उनलाई डुबाउने आँकलन गरिएको छ ।
यसअघिका कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई बदनाम गर्ने काम पनि कार्कीले नै गरेका थिए । राज्यमन्त्री रामकुमारी चौधरीका पति सन्तोष थारु र समशेर मियाँलाई प्रलोभनमा पारी उनले कृषि मन्त्रालयमा हालीमुहाली गरेपछि उनलाई बागमती प्रदेशमा सरुवा गरिएको थियो ।
कृषिको अनुदान दुरुपयोगका नाइके कार्की पुनः सचिव हुनका लागि नेकपाका नेता तथा रक्षामन्त्री इश्वर पोखरेलदेखि विभिन्न नेताकोमा ब्रिफकेस नै बोकेर हिंडेका छन् । भ्रष्टाचारबाट आर्जित करोडौं रुपैयाँ खर्च गरेर भए पनि उनी सचिव हुने दाउमा छन् ।
कार्की कृषिका अर्बौंंका परियोजनाको प्रमुख हुँदा पनि अर्बौं रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा छन् । नेपाली कांग्रेस र नेकपा मध्ये जो पावरमा हुन्छ तिनै नेताहरुले भने अनुसारका संस्थालाई अनुदान दिनेदेखि कन्सलटेन्सीको काम दिएर खुसी पार्नेमात्र होइन, नेताका छोराछोरीलाई जागिरमा राखेर घरमै तलव पुर्याउने गरेका थिए ।
नेपालको कृषि क्षेत्रका लागि विश्व बैंकलगायतले दिएको आर्थिक सहयोग उनले नेताका छोराछोरीलाई कार्यालयमै नआई कामै नगरी लाखौं लाख तलव घरमै पुर्याउने गरेका थिए । रक्षा मन्त्री इश्वर पोखरेलका छोरालाई उनले प्याक्टमा मासिक ३ लाख तलव खुवाउने काम गरेका थिए । जुन तलव उनी आफैं पोखरेलको घरमै पुर्याउन जाने गरेको चर्चा त्यतिबेला हुने गरेको थियो ।
नेताका आसेपासेको सिफारिसमा बिराटनगरको कमर्सियल एग्रिकल्चर एलाइन्स(सीएए)देखि ब्यवसायिक कृषि तथा ब्यापार आयोजना(प्याक्ट)को अरबौं बजेट बितरण गरी भ्रष्टाचार गरेकोबारेमा अख्तियारले पनि उनीमाथि छानबिन गरिरहेको छ । राष्ट्रिय सतर्कता केन्द्रले पनि छानबिन गरिरहेको छ । उनले प्याक्टको आयोजना निर्देशकको रुपमा काम गर्दा जनताको नाममा प्राप्त करोडौं अनुदान दुरुपयोग गरेका थिए । सतर्कताको अनुसन्धानमा उनले गरेका भ्रष्टाचारका केही प्रतिनिधि
उदाहरण यस्ता छन् :
प्रथम, दोस्रो र तेस्रो आह्वान अन्तर्गत विभिन्न १५ जिल्लामा ३६ वटा काम नगर्ने परियोजनाहरुलाई पनि पेश्कीमाथि पेश्कीका रुपमा ३ करोड भन्दा बढी रकम भुक्तानी दिएको फेलापरेको थियो । विश्वबैंकले चासो देखाउँदा देखाउँदा र छानबिन गर्दागर्दै प्रतिस्पर्धा नै नगराई बीपीआरसी भन्ने संस्थालाई परियोजनाको जिम्मा दिई १६ लाख रुपैयाँ भुक्तानी दिएका थिए ।
आयोजना निर्देशक हुँदा प्याक्टबाटै तलवभत्ता दिनेगरी १ महिला र एक सवारी चालकलाई ब्यक्तिगत काममा घरमा राखेको छ । उनीहरुलाई ८ बर्षसम्म प्याक्टबाटै तलव दिइएको सर्तकताको प्रतिवेदनमा उल्लेख छ । सहसचिव कार्कीले आफ्नै नातेदारलाई नियम कानुन मिचेर माइक्रो ग्रान्ट उपलब्ध गराएका थिए ।
सोलुखुम्बुमा मात्र १ सय २७ जनाभन्दा बढीलाई त्यस्तो ग्रान्ट उपलब्ध गराएको सतर्कताको अनुसन्धानमा देखिएको छ । सहसचिव कार्कीको घर सोलुखुम्बु हो ।
सवारी साधन, कार्यालय सामग्री, प्रयोगशाला सामग्री खरिदमा अनियमितता गरेका थिए । घुुसमा मोलमोलाई गरी जसले बढी दिने कबोल गर्छ, उसैको योजना छनोट गर्ने, कामै सुरु नगरी भुक्तानी दिएका कारण काम सम्पन्न हुन नसकी नेपाल सरकारलाई क्षति हुन पुगेको सतर्कताको प्रतिवेदनमा उल्लेख छ ।
समग्रमा सहसचिव कार्कीले त्रुटीपूर्ण योजना छनोट एवं पदीय दुरुपयोगका कारण प्याक्टको छवि र कार्यक्रम कार्यान्वयन स्थिति निराशाजनक हुन पुगेको उल्लेख गरेको छ ।आजको युनाइटेड पोस्ट साप्ताहिकमा खबर छापिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।