काठमाडौं - गृहसचिव महेश्वर न्यौपानेले बुधबार गृह मन्त्रालयमा आयोजित नवनियुक्त आईजीपी ठाकुर ज्ञवालीलाई दज्र्यानी चिन्ह प्रदान गरे लगत्तै प्रहरी अधिकारीमा पछिल्लो समय व्यक्तिवादी भावना बढेको भन्दै आफूलाई सच्याउनु जरुरी रहेको बताए ।
झण्डै दुई साता अघि गृह मन्त्रालयमा सरुवा भएका सचिव न्यौपानेले प्रहरी संगठनमा व्यक्ति केन्द्रीत सोच पलाएको बताउँदै कसैलाई उछिनेर अगाडि जाने सोच त्यागेर व्यवसायिक बन्न समेत सुझाव दिए । न्यौपानेले यस्तो दौडले व्यावसायिकतामा कतै न कतै सम्झौता भएको बताउँदा उच्च प्रहरी अधिकारीहरु मुखामुख भएका थिए ।
अख्तियारको सचिव भएर काम गरिसकेका न्यौपानेले प्रहरीको चाकडी प्रथाबारे राम्रोसँग बुझेका कारण बुधबार उनले बढुवा र सरुवाका लागि आफूकहाँ नधाउन भन्दै घुमाउरो पारामा उक्त सुुझाव दिएका थिए ।
एक डिआईजीका अनुसार न्यौपानेको भनाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी विश्वराज पोखरेलप्रति लक्षित थियो ।
सर्वेन्द्र खनाल आईजीपी छँदा राजनीतिक दबाबमा दुई ब्याचलाई पछाडि पारेर एसएसपीबाट डिआईजी बनेका पोखरेल अहिले रिक्त तीन एआईजीमध्ये एक पदमा बढुवा हुन सोही शैली अपनाई रहेका छन् । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलमार्फत गृह मन्त्रालयमा दबाब दिएर जुनियर डिआईजी पोखरेल एआईजी बन्न लविङमा जुटिसकेको गृह मन्त्रालय स्रोत बताउँछ ।
डिआईजीको उक्त शैलीप्रति जानकार गृहसचिव न्यौपानेले बुधबार राम्रै झट्का दिएको समेत गृहमा चर्चाको विषय बन्यो । २०२३ साल साउन २० गते जन्मिएका पोखरेल २०४९ बैशाख ११ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
उनी भन्दा दुई सिनियर व्याच प्रहरीमा छन् । २०४७ असार २५ र २०४९ चैत ११ गते प्रहरी सेवामा प्रवेश गरेको टोली पोखरेल भन्दा सिनियर हो । हाल पोखरेल भन्दा सिनियर डिआईजी ६ जना छन् ।
ठाकुरप्रसाद ज्ञवाली आईजीपी बनेपछि तारणीप्रसाद लम्साल, सूर्यप्रसाद उपाध्याय, सैलेश थापा, हरी पाल, निरज शाही र प्रधुम्न कार्की पोखरेल भन्दा सियिनर डिआईजी हुन् ।
तर, पोखरेल अहिले नै तीन एआईजीमध्येमा बढुवा भई पाँच महिनापछि आईजीपी बन्न चलखेलमा लागेका कारण सिनियर डिआईजीहरु आतंकित बनेका छन् ।आजको युनाइटेड पोस्ट साप्ताहिकमा खबर छापिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।