काठमाडौं - बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक पदमा बढुवा भएका ठाकुरप्रसाद ज्ञवालीलाई आईजीपीको फूली लगाईदिंदा ज्ञवाली प्रसन्न देखिन्थे ।
मंगलबारको मन्त्रिपरिषद्को बैठकले बुधबारदेखि लागू हुने गरी ज्ञवालीलाई आईजीपीमा बढुवा गरेको थियो । बुधबार आईजीपीको फूली लगाएपछि गृह मन्त्रालयमा आयोजित कार्यक्रममा आईजीपी ज्ञवालीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई नमूना संगठन बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
आईजीपी ज्ञवालीले कुनै पनि अवाञ्छित, ध्वंसात्मक र संविधान विपरीतका गतिविधिलाई पूर्णतः नियन्त्रण, निस्तेज गरी कानूनको दायरामा ल्याउन आफू दृढ रहेको समेत बताए ।
तर, प्रहरी संगठनभित्र स्वच्छ र इमान्दार छवि बनाएका ज्ञवालीले प्रदेश १ प्रहरी प्रमुखका रुपमा ७ महिने कार्यकाल विताउँदा विवाद हुन्छ भन्दै जसरी काम नै नगरी मौन बसे, सोही शैलीलाई अहिले अपनाए भने उनी पूर्व आईजीपी प्रकाश अर्याल जस्तै बन्ने निश्चित छ । किनकी अर्यालको ११ महिने कार्यकालमा उनी नाम मात्रको आईजीपी बनेका थिए ।
अहिले आईजीपी ज्ञवालीसामू थुप्रै चुनौती रहेका छन् । पाँच महिनाको अवधिमा उनले थुपै्र कामहरु गर्नुपर्ने देखिन्छ । तीन एआईजी पदमा बढुवादेखि डिआआईजी, एसएसपी र एसपीसम्म विवादरहित तरिकाले बढुवा गर्नुपर्ने चुनौती आईजीपी ज्ञवालीसमामु छ ।
निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणलाई टुङ्याउन निवर्तमान आईजीपी सर्वेन्द्र खनालले थालेको प्रयासलाई ज्ञवालीले निष्कर्षमा पुर्याउनु पर्ने देखिन्छ । निर्मला पन्त प्रकरणमा पछिल्लो समय प्रहरीले अनुसन्धानलाई अन्तिम चरणमा पु¥याएर यस अघिका कमी कमजोरीलाई सुधार गरिसकेको छ ।
त्यसैगरी संघीय संरचनामा प्रदेश सरकार सक्रिय भए पनि प्रहरीमा भने अझै संघीय संरचना लागू हुन सकेको छैन । संघीय प्रहरी ऐनलाई कार्यान्वयन गर्नुपर्ने चुनौती पनि उनीसामू रहेको छ ।
सरकारको लागि टाउको दुःखाइको विषय बनेको प्रतिवन्धित बिप्लब माओवादीका आतंकवादी गतिविधिलाई नियन्त्रणमा ल्याउन उनी कस्तो रुपमा प्रस्तुत होलान् ? यो पनि उनका लागि चुनौती हो । यसअघि सर्वेन्द्र खनाल आईजीपी हुँदा विप्लव माओवादीविरुद्ध कठोर रुपमा प्रस्तुत भएका थिए ।
खनालका पालामा विप्लव माओवादीका गतिविधिहरु छिटफुट भएपनि सयौंको संख्यामा पक्राउ तथा घटना गराउने नेता कार्यकर्ताहरुलाई पनि उनले कानुनी दायरामा ल्याएका थिए । १ नम्बर प्रदेशको प्रमुख छँदा डिआईजी ज्ञवालीमाथि इमान्दार भएर काम गरे पनि विवादमा आउने डरले खुला सीमामार्फत हुने तस्करी नियन्त्रणमा नेतृत्वदायी पहल नगरेको आरोप लागेको थियो । त्यस्तै विराटनगरका पूर्वपत्रकार जयप्रसाद दाहालको हत्या प्रकरणको अनुसन्धान गर्न नसकेको तथा भोजपुरको अरुण गाउँपालिका– १ प्याउलीमा रहेको पोखरीमा मृत भेटिएका बालबालिकाको अनुसन्धान प्रकृया समेत टुंगोमा पुर्याउन नसकेको पनि ज्ञवालीमाथि आरोप लाग्ने गरेको छ ।
त्यसैगरी उच्च अदालत विराटनगरमा बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा चलिरहँदा प्रहरीकै स्कटिङमा गिरी सीमावर्ती क्षेत्र जोगवनी हुँदै भारततिर भाग्दा समेत ज्ञवालीले दोषी प्रहरी उपर कारबाही गर्न सकेका थिएनन् । त्यतिबेला गिरीको शक्तिसामु ज्ञवाली निरिह बनेको समेत आरोप लागेको थियो ।
अहिले पनि कमजोरीका रुपमा रहेका यस्ता घटनाहरुलाई उनले दोहोर्याउँदै लगे भने उनको पाँच महिने कार्यकाल पनि १ नम्बर प्रदेशमा डिआईजी रहँदा विताएको जस्तै नहोला भन्न सकिन्न ।
किनकी इमान्दारिता एउटा पाटो हो भने फौजी संगठनमा इमान्दारिताका नाममा विवादमा पर्छु भनेर काम नगर्ने छुट प्रहरीलाई हुँदैन र आईजीपी ज्ञवाली भाषणमा मात्रै सीमित रहेर पहिलेकै झैं मौन बसे भने उनले भनेजस्तो नमूना प्रहरी संगठन नाम मात्रैको नहोला भन्न सकिन्न । आजको युनाइटेड पोस्ट साप्ताहिकमा खबर छापिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।