काठमाडौं – पार्टी महाधिवेशनको आधारभूत तयारीमा जुटेको नेपाली कांग्रेसको हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ ।
बुधबारको केन्द्रीय कार्यसमिति बैठकले प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने तथा वडा कार्यसमिति र क्षेत्रीय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशील सदस्यता वितरण खुला गर्ने निर्णय गरेको छ ।
वडाको जनसंख्या हेरेर समानुपातिक रुपमा सदस्यता वितरण गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् । गत पुस ११ गते बसेको बैठकले अधिवेशनसम्मका लागि विधानका केही धारा ‘निलम्बन’ गर्ने भनेर गरेको निर्णय बुधवारको बैठकले सर्वसम्मतले पारित गरेको शर्माले बताए ।
पार्टी विधानको धारा ४(२) ‘एक वर्ष पुगेपछि’, धारा ४(१०)(ञ) ‘छ महिना’, धारा ४(१२)(ख) ‘नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको’, धारा ३५(२)(घ) ‘भन्दा कम्तिमा एक वर्ष’ र ‘तीन महिना’, धारा ५०(६) ‘छ महिना अगावै’ र ‘छ महिना’लाई निलम्बन गरिएको छ ।
विधानका धारा निलम्बन गर्न केन्द्रीय कमिटी बैठकमा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले मिलेर निर्णय गराएका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल एक्लै परेका स्रोतले जनाएको छ ।
पार्टीको महाधिवेशनसम्म विधानका ५ वटा धारा निलम्बन गर्ने निर्णय गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतबाट गरेको थियो । सो निर्णयप्रति सिटौला पक्ष असन्तुष्ट भएपनि बुधबारको बैठकमा देउवाले सिटौलालाई सहमतिमा ल्याएका छन् ।
बुधबारको बैठकमा पौडेल पक्षले विमती जनाउँदा दिउँसो २ बजे बेलाइएको बैठक साँझ ६ बजेपछि बसेको हो । बुधबार दिउँसो तीन बजे नै देउवा र सिटौला पक्षका नेता बैठकमा प्रवेश गरेपनि पौडेल पक्षका बैठकमा प्रवेश गरेन ।
विधानका धारा निलम्बन गर्न नहुने कडा अडानमा रहेका पौडेल साँझसम्म गलेर सर्वसम्मत निर्णय भएको स्रोतले जनाएको छ । देउवासँग सिटौला मिलेको देखेपछि पौडेल अडानमा कायम रहन सकेनन् ।
कम्युनिस्ट सरकारले राजनीतिक आस्थाका आधारमा कांग्रेसका नेता कार्यकर्तामाथि पूर्वाग्रह राखेर सुनियोजित रुपमा झूटा मुद्दा लगाउने, संविधानको मर्म र भावना विपरीतका विधेयक ल्याउने काम गरेकोप्रति समेत बैठकले भत्र्सना गरेको शर्माले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।