काठमाडौं – जिल्ला अदालत काठमाडौंको आदेशलाई उल्ट्याउँदै उच्च अदालत पाटनले कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशकुमार थापालाई तत्काल थुनामा राख्न आदेश गरेको छ ।
नरेश थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेशलाई उल्ट्याएको हो । जिल्ला अदालतले थापालाई तारेखमा रिहा गरेको थियो ।
उच्च अदालतले थापालाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । व्यवसायीबाट ‘फिरौती’ उठाउने गिरोहसँगको मिलेमतोमा धम्की दिएर रकम असुलेको अभियोगसहित थापालगायत व्यक्ति पक्राउ परी मुद्दा चलाइएको थियो । काठमाडौं अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको एकल इजलासले थापालाई गत असोज १ गते १ लाख रुपैयाँ धरौटी लिएर तारेखमा रिहा गरेको थियो ।
थापासहित अन्य ६ जनाले थुनामा रहेका विवादास्पद अभियुक्त समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीबाट फिरौती असुलेको आरोप छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका अभियुक्त समीरमानसिंहले जेलबाटै चलाएको असूलीसँग जोडेर प्रहरीले थापा सहितका अभियुक्तलाई पक्राउ गरेको थियो ।
गौचनको २०७४ असोज २३ गते नयाँ बानेश्वरको शान्तिनगर ठूलो खरिबोटनजिक दिउँसो हत्या गरिएको थियो ।
निर्माण व्यवसायीलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगेपछि प्रहरीको विशेष ब्यूरोले पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेपछि दुवैले थापालाई आरोप लगाएका थिए ।
ललितपुरको नख्खु कारागारमा राखिएका समीरमान सिंहले जेलभित्रैबाट फिरौती धन्दा चलाएका कारण मुस्ताङ कारागार सारिएपनि उनले थापा लगायतको गिरोहलाई परिचालन गरेको प्रहरीको आरोप छ । गृहमन्त्री बादलका भाइ थापाले अब अभियोगको अन्तिम टुंगो नलागेसम्म थुनामै बस्नुपर्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।