काठमाडौं – अवकाशप्राप्त पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको सोमबार बिहान भएको हत्या घटनाले अनुसन्धानमा खटिएका प्रहरीलाई नै झस्काएको छ ।
पूर्व सचिव कार्कीको घरमा कामदारका रूपमा कार्यरत दाङ जिल्लाका विजय चौधरीले नै मुनाको हत्या गरेको सीसीटीभी फुटेज प्रहरीले फेला पारेको छ ।
पूर्व सचिव कार्की सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला कामदार चौधरीले मुनाको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । हत्याका क्रममा भएका सीसीटीभी भिडियोमा देखिएका विभत्स दृश्यले अनुसन्धानमा खटिएका प्रहरी नै झस्किएका छन् ।
कार्कीको घरमा जडान गरिएका विभिन्न ठाउँका ३ वटा सीसीटीभी क्यामेराबाट रेकर्ड गरिएका दृश्य प्रहरीले फेला पारेको स्रोतले जनाएको छ । सोमबार बिहान घरमा कोही नभएको मौकामा १० बजेतिर चौधरीले मुनाको घाँटीमा डोरी बेरेर हत्या प्रयास गरेको भिडियोमा देखिएको छ । घाँटीमा डोरी बेरिएपछि दुवै जनाबीच केहीबेर घम्साघम्सी भएको देखिएको प्रहरी स्रोतले जनाएको छ ।
भिडियोमा देखिएको दृश्य अनुसार पहेलो रंगको डोरीलाई चौधरीले पछाडिबाट मुनाको हात र घाँटीमा कसेको देखिएको छ । घाँटी र हातमा डोरी बेरिएपछि मुना भुइँमा खसेको र त्यसपछि चौधरीले निलो रंगको पिर्काले टाउकोमा हिर्काएको दृश्य देखिएको छ । कार्कीको घरको भान्सा कोठामा दुवैबीच घम्साघम्सी भएको छ ।
मुनाको हत्यापछि चौधरीले भान्सा नजिकैको बरन्डामा गएर झुण्डिएर आत्महत्या गरेका छन् । बरन्डामा सीसीटीभी नभएका कारण उनको आत्महत्याको भिडियो भने प्राप्त हुन नसकेको प्रहरीले स्रोतले जनाएको छ ।
मन्दिरबाट फर्किएका पूर्व सचिव कार्कीले विभत्स घटना देखेका थिए । त्यसपछि स्थानीयको सहयोगमा मुनालाई अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । मुना र चौधरीबीच के विषयमा विवाद भएको थियो भन्ने बुझ्न नसकिएपनि अनुसन्धान चलिरहेको प्रहरी स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।