काठमाडौं – नेपाल चिकित्सक संघको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार डा. लोचन कार्कीको जीत भएको छ ।
निर्वाचनमा खसेका कूल मतमध्ये ५० प्रतिशतभन्दा बढी मत डा. कार्कीको पक्षमा आएकाले सबै मतगणना नसकिँदै कार्कीको जीत भएको हो ।
लोकतान्त्रिक समूहका उम्मेदवार कार्कीको जीतको औपचारिक घोषणा मतगणना सकिएपछि मात्रै हुने भएपनि उनको जीत सुनिश्चित भएको छ ।
चिकित्सक संघको नयाँ नेतृत्वका लागि देशभरबाट ६ हजार १५२ मत खसेकोमा दुई जना मात्र अध्यक्षमा प्रत्यासी रहेकाले ३ हजार ७६ मत प्राप्त गर्नेले जित्ने निश्चित थियो ।
निर्वाचनमा करीब १ हजार ४०० मत गणना हुन बाँकी रहेकै अवस्थामा उम्मेदवार कार्कीले जितका लागि आवश्यक पर्नेभन्दा बढी मत पाइसकेका छन् ।
प्रमुख निर्वाचन आयुक्त डा. बाबुराम मरासिनीले ४ हजार ७८५ मत गणना भइसक्दा डा. कार्कीले ३ हजार १९८ मत पाएका छन् ।
कार्कीका प्रतिद्वन्द्वी कम्युनिस्ट गठबन्धनको प्रगतिशील समूहका उम्मेदवार डा. पुष्पमणि खरालले १ हजार ५३५ मत मात्र पाएका छन् । उपाध्यक्ष पदमा डा. अनिलविक्रम कार्कीले पनि आधाभन्दा बढी ३ हजार ८५ मत पाएकाले उनको जीत पनि निश्चित भएको छ । उपाध्यक्षमा कार्कीका प्रतिद्वन्द्वी डा. रञ्जीतकुमार झाले १ हजार ५२४ मत मात्र पाएका छन् ।
संघको २८ औं कार्यकारिणी समितिको निर्वाचनमा डा. कार्की लगायत सबै पदाधिकारी र अधिकांश सदस्यले लोकतान्त्रिक प्यानलबाट नै अग्रता लिएका छन् । मत गणना मंगलबारसम्म सकिने निर्वाचन मण्डलका सदस्यले जनाएका छन् ।
अध्यक्षमा विजयी डा. कार्की चिकित्सक संघका महासचिव हुन् । सत्तामा रहँदा कम्युनिस्टले देखाएका विभेदकारी व्यवहारका कारण विभिन्न पेशागत संघसंस्थामा लोकतान्त्रिक समूहले जीत हात पार्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।