पोखरा - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेशका सांसद एवम् पूर्वगुण्डा नाइके दीपक मनाङे पोखरामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार प्रदेश सांसद मनाङेलाई लेकसाइडबाट पक्राउ गरिएको हो । कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीको पूर्वस्वीकृतिपछि पक्राउ गरेको एसपी कार्कीले बताए ।
पूर्वगुण्डा नाइके समेत रहेका नेकपाका प्रदेश सांसद मनाङेले आफ्नो पदीय हैसियतलाई बेवास्ता गरेर गण्डकी प्रदेश अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष दीपक गुरुङलाई मुक्का हानेका थिए ।
पूर्व गुण्डा नाइके मनाङेले बुधबार पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेश एन्फाका अध्यक्ष गुरुङलाई आफूले हातपात र कुटपिट गरेको स्वीकार गरेका थिए ।
पूर्व गुण्डा नाइके मनाङेले नेपाल प्रहरीलाई सिधै चुनौती दिएर आफूलाई सक्ने भए कारबाही गर्न भनेका थिए । मनाङेले दिएको चुनौतीको २४ घण्टाभित्रै कास्की प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रदेश सभाको निर्वाचनका बेला तत्कालीन एमालेको समर्थनमा स्वतन्त्रबाट विजयी भएका मनाङे केही महिना अगाडि मात्रै नेकपामा प्रवेश गरेका थिए ।
मनाङेको विगतका काण्डहरू सर्वसाधारणले भुल्दै गएका बेला पुनः पोखरामा एन्फाका अध्यक्ष गुरुङलाई कुटेर आफू नसुध्रिएको संकेत दिएका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली निकट रहेको बताउने पूर्व गुण्डा नाइके समेत रहेका प्रदेश सांसद मनाङेलाई कास्की प्रहरीले त्यत्तिक नछाड्ने संकेत गरेको छ । सांसद हुँदा पनि सुध्रिन नसकेका मनाङेका दिन फेरि पनि तनावपूर्ण हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।