काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला नेतृत्व चयनको विषयमा लडाइँ सुरू भएको छ ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको मिति घोषणा गरेको अवस्थामा नेकपाको विद्यार्थी संगठनभित्र लडाइँ चलेको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुटले पेलेर एकलौटी रुपमा जिल्ला नेतृत्व चयन गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल समूहले असन्तुष्टि जनाएको छ ।
नेपाल समूहका अनेरास्ववियूका निवर्तमान सचिव सुदेश पराजुली, वसिम आलम र लेखा आयोगका अध्यक्ष धर्मेन्द्र रोकाया लगायतले केही जिल्लामा मापदण्ड विपरीत नेतृत्व चयन गरिएको भन्दै तीब्र असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाल समूहले अनेरास्ववियूका इन्चार्ज हितमान शाक्य, सहइञ्चार्ज विनोद ढकाल, संयोजक ऐन महर तथा सहसंयोजक रञ्जित तामाङलाई लिखित असहमतिपत्र बुझाएको लेखा आयोगका अध्यक्ष रोकायाले बताएका छन् ।
जिल्ला नेतृत्व टुंगो लगाउँदा बझाङ, हुम्ला, चितवनलगायत एक दर्जन जिल्लामा मापदण्ड मिचिएको नेपाल समूहको आरोप रहेको छ ।
‘जिल्ला नेतृत्व टुंगो लगाउँदा निवर्तमान जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिवसहित पदाधिकारीहरूलाई वरियताअनुसार बाडफाँट गर्ने मापदण्ड बनेपनि एक दर्जन जिल्लामा गुटका आधारमा आफ्ना मान्छेलाई जिम्मेवारी दिने काम भएको छ, यो हामीलाई स्वीकार्य हुँदैन,’ लेखा आयोगका अध्यक्ष रोकायाले भने ।
ती जिल्लामा निवर्तमान अध्यक्षलाई बाइपास गरेर सचिवालय सदस्यलाई अध्यक्ष बनाउने गम्भीर त्रुटि भएको आरोप लगाइएको छ । तत्कालीन एमाले निकट अनेरास्ववियू र माओवादी निकट क्रान्तिकारीबीचको एकताका क्रममा जिल्ला अध्यक्ष र सचिव एकअर्काले लिने सहमति भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।