काठमाडौं– नेकपाका नेता हरिबोल गजुरेलले अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने भए मात्र पूर्वमाओवादी समुहले सभामुख पद छोड्ने बताएका छन् ।
केही दिन यता नेकपा भित्र सभामुखको विषय पेचिलो बनिरहेका बेला गजुरेलले प्रचण्डलाई पार्टीको एकल अध्यक्ष वा प्रधानमन्त्री बनाएको खण्डमा मात्र पूर्व माओवादीले सभामुख छोड्ने सक्ने बताएका हुन् ।
पूर्वमाओवादीबाट सभामुख रहेका कृष्णबहादुर महरा यौन दुव्र्यवहार काण्डमा मुछिएर जेल गएपछि सभामुख पद खाली छ । पुस ४ गते प्रतिनिधीसभाको हिँउदे अधिवेशन सुरु भएको छ । तर, सभामुख विवादले संसद बैठक टरेको टर्यै छ ।
उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई नेकपाले राजिनामा दिन भनेको छ तर, उनले राजिनामा नदिने बताइरहेकी छन् ।
तर, गजुरेल भने उपसभामुखले पार्टीको निर्णय मान्नुपर्ने बताउँछन् । ‘अहिले पार्टीले भनेको नमान्ने हो भने यो उहाँको लागि मात्रै होइन, भोलि कसैले पनि मान्दैन,’ उनी भन्छन्, ‘झन् निर्णय नै नमानेपछि उहाँ (शिवमाया) लाई कसरी सभामुख बनाउन मिल्छ ? पार्टीको निर्णय मान्यो भने पो बरु हुन्छ । पार्टीको निर्णय नमानेपछि पार्टीले कसरी सभामुख बनाउँछ त ? झन् बनाउँदैन ।’
उनले एकताको प्रक्रिया टुंगिएर महाधिवेशन भएपछि नयाँ परिस्थिति सिर्जना हुने भएपनि मनोविज्ञान त त्यहाँ पनि ख्याल गर्नुपर्ने बताए ।
दुईवटा अध्यक्षको कार्यविभाजनमा पनि भागवण्डा गरिएको भन्दै उनले प्रचण्डलाई एउटामात्रै अध्यक्ष राखे हुँदैन ? एउटा मात्रै अध्यक्ष राखौं भन्ने भएपछि समामुख जो राखे पनि हुने बताए ।
‘एउटा प्रधानमन्त्री हुने, अर्को अध्यक्ष हुने, दुईवटा अध्यक्ष नराखौं, राम्रो पनि परेन, अध्यक्षले पार्टी चलाउँछ, अर्कोचाहिँ सह अध्यक्ष हुन्छ, सरकार चलाउँछ भन्न पनि त सकिने भयो,’ उनले भने, ‘अथवा अहिले भइरहेका प्रधानमन्त्रीले अध्यक्ष बनेर पार्टी चलाउने, प्रचण्डलाई सरकार दिने हो भने पनि त के विवाद हुन्थ्यो र ।
त्यस्तो स्थिति हो त अहिले ? ल, अहिले पनि प्रचण्डलाई नै एकल अध्यक्ष बनाउने निर्णय गरोस् त पार्टीले, सभामुख उपसभामुखमा जो राखे पनि हुन्छ । जो राखे पनि हुन्छ । अहिलेकै उपसभामुखलाई सभामुख बनाइदिँदा पनि केही फरक पर्दैन । अरु कोहीलाई दिन पनि केही फरक पर्दैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।