काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन फुट्ने भएको छ । संगठनको केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको शपथग्रहण भइरहेको बेला असन्तुष्ट समूहले समानान्तर कमिटी बनाउने भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा नेकपा महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीलाई शपथग्रहण गराएर पहिलो बैठकको उद्घाटन गरिरहँदा नजिकै रहेको विश्वभाषा क्याम्पसमा भेला भएको असन्तुष्ट समूहले समानान्तर कमिटी बनाउने तयारी गरिरहेको छ ।
तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष पञ्चा सिंहको नेतृत्वमा भेला भएका विद्यार्थीले केन्द्रीय कमिटी गठन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै शपथग्रहण बहिष्कार गरेका छन् ।
शपथ बहिष्कार गरेर बेग्लै भेलामा बसेका विद्यार्थी नेताले समानान्तर कमिटी घोषणा गर्ने चेतावनी दिएका छन् । वर्तमान अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको कार्यशैलीप्रति आपत्ति जनाउँदै तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) निकट विद्यार्थी नेताले शपथग्रहण तथा बैठक बहिष्कार गरेर बेग्लै भेला डाकेको सिंहले बताइन् ।
सिंह अनेरास्ववियू (क्रान्तिकारी)का तर्फबाट सबैभन्दा बढी मतले विजयी भएकी उपाध्यक्ष हुन् । भेलामा तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) का उपमहासचिव सुकमान महरा, प्रदेश सचिवहरू दीपक देवकोटा, मदन भुल, मदन भट्टराई, सूर्यनारायण शाह, सचिवनारायण खनाल, अजयजंग शाही, गजेन्द्र देव, लक्ष्मी जोशीलगायतका ६० भन्दा बढी विद्यार्थी नेताको सहभागिता छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।