मंगलवार, पौष १५ २०७६
काठमाडौं– प्रचण्डका पूर्व बडिगार्ड तथा चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको सरुवा भएको १० दिन वितिसक्यो । तर, अहिले पनि उनी चितवनमै छन्।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते उनको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो। उच्च राजनीतिक शक्तिकेन्द्रको दबाब आएपछि मल्लको सरूवा कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको छ।
पुस ४ गते मल्लसहित २४ जना एसपीको सरूवा भएको थियो। सरूवा भएका अधिकांश प्रहरी उपरीक्षकले जिल्ला सम्हालिसकेका छन्।
मल्ल कार्यरत चितवनमा प्रहरी उपरीक्षक गंगा पन्तको सरूवा भएको थियो। पन्तले आइतबार चितवन जाने तयारी गरेकी थिइन्। तर, मल्लले जिल्ला नछोडेपछि उनी आइतबार गइनन्।
साधारणतया २४ घन्टाभित्र सरूवा कार्यान्वयन गराइसक्नुपर्ने नियम प्रहरी संगठनमा छ। सरूवा भएको थाहा पाएपछि अधिकृतहरू जिल्ला छोडेर नयाँ आउने अधिकृतलाई ठाउँ खाली गर्छन्। सरूवा कार्यान्वयन गर्न नमान्नु भनेको ‘चेन अफ कमाण्ड’ लाई नै चुनौती दिनु पनि हो।
एसपी मल्लले सरूवा भएको थाहा पाएको तर प्रहरी प्रधान कार्यालयबाट औपचारिक रूपमा कुनै पत्र नपाएकाले आफूले जिल्ला नछोडेको बताए।
प्रहरी प्रधान कार्यालयले प्रकाशित सरूवा सूचीलाई नै आधिकारिक जानकारी मान्नुपर्ने बतायो। बडिगार्ड हुँदा उनी लामो समय प्रचण्डको सुरक्षामा खटिएका थिए। दाहालको सुरक्षाबाट हटेपछि उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गमा सरूवा भए।
प्रहरी उपरीक्षक बढुवा भएपछि उनी चितवन जिल्लामा सरूवा भएका थिए। साधारणतः एक वर्षसम्म जिल्ला प्रमुखको कार्यकाल हो। त्यसभन्दा अगाडि आठ महिनामै मल्लको सरूवा भएको थियो। उनलाई कमजोर कार्यक्षमता भएको भन्दै प्रधान कार्यालयले आठ महिनामै सरूवा गरेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।