काठमाडौं – नेपालमा आएर आपराधिक गतिविधि गरेको पाइएपछि प्रहरीले राजधानीका विभिन्न स्थानबाट १०० भन्दा बढी चिनियाँ अपराधीलाई पक्राउ गर्यो ।
देशभर विभिन्न स्थानीय तहका वेबसाइट र सफ्टवेयर ह्याक गरेर सरकारी र नेपाली नागरिकका गोप्य सूचना चोरिएको पाइएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
सरकारी प्रणालीमा रहेका आर्थिक लेखाजोखाको विवरण समेत बिग्रिएपछि महालेखा निरीक्षकको कार्यालयले प्रहरीलाई सूचना दिएको स्रोतले जनाएको छ । स्थानीय तहका वेबसाइटहरू ह्याक भएको पाइएपछि नेपाल प्रहरीको सीआईबीले अनुसन्धान अगाडि बढाएपछि चिनियाँहरू पक्राउ परेका हुन् ।
नेपालमा बस्ने अनुमतिपत्र भिसाको म्याद सकिएपछि पनि नेपालमै बसेर साइबर अपराधका गतिविधि गरेको पाइएपछि प्रहरीले चिनियाँलाई पक्राउ गरेको हो । प्रहरीले राजधानीका विभिन्न अपार्टमेन्ट तथा घरहरूमा छापा मारेर चिनियाँलाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आपराधिक गतिविधिबारे सूचना पाएपछि अनुुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए । खनालको निर्देशनसँगै सोमवार सीआईबीमा महानगरीय प्रहरी परिसर, अपराध महाशाखा लगायतका प्रमुखहरूको बैठक बसेर सर्च अभियान तीव्र बनाउने निर्णय गरिएको थियो ।
सर्च अभियान अन्तर्गत बूढानिलकण्ठ, बाँसबारी, धुम्बाराही लगायतका स्थानमा प्रहरीले छामा मारेर १०० भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले चिनियाँ नागरिकहरूबाट ४ सय बढी ल्यापटप, मोबाइल फोन, सिम लगायत विद्युतीय उपकरण बरामद गरेको छ ।
काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चिनियाँलाई पक्राउ गरिएको बताउँदै थप अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ पर्नेमा महिला पनि छन् ।
पछिल्लो समय नेपालमा चिनियाँ अपराधीले बैंक ह्याक गरेर रकम लुटेको घटना पनि सार्वजनिक भएको थियो । चीनबाट पर्यटक भएर नेपाल आउने व्यक्तिहरू आपराधिक क्रियाकलापमा संलग्न रहने संख्या बढ्दै गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।