शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

बालकोटको एकलौटीपछि तीनवटै निर्वाचन क्षेत्रमा एमाले कमजोर

बालकोटको एकलौटीपछि तीनवटै निर्वाचन क्षेत्रमा एमाले कमजोर

  • मिडिया डबली
  • मंगलवार, चैत्र २८ २०७९

  • 3.4K
    SHARES

  • बालकोटको एकलौटीपछि तीनवटै निर्वाचन क्षेत्रमा एमाले कमजोर

    काठमाडौं - आगामी वैशाख १० गते उपनिर्वाचनमा बारा २, चितवन २ र तनहुँ २ मा एमालेसहित अन्य दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।

    तर, माहोल हेर्दा सत्तारुढ गठबन्धन र रास्वपा तथा जनमत पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारुढ गठबन्धनले वडा तहसम्मै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेता सम्मिलित निर्वाचन परिचालन कमिटी गठन गरेको छ । रास्वपाले पनि भएभरको शक्ति निर्वाचनमा लगाएको छ । सो पार्टीका सभापति रवि लामिछाने एक्लै चुनावी प्रचारमा लागेका छन् ।

    प्रमुख प्रतिपक्षी दल एमाले भने आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा छायाँमा परेको छ । सो पार्टीले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ । तर, कुनै उम्मेदवार चर्चामा छैनन् ।

    उपनिर्वाचनको परिचालन र व्यवस्थापनमा समेत अध्यक्ष केपी ओलीले मनोमानी गरेपछि एमालेभित्र असन्तुष्टि चुलिएको छ । पार्टीभित्र समस्या भएको ठाउँमा समाधान नखोजी सिधै बालकोटबाट गरिएको निर्णयका आधारमा अगाडि बढ्दा चुनावी माहोल नै खल्लो बनेको छ ।

    अहिलेको चुनावी माहोल पनि एमालेको पक्षमा छैन । उम्मेदवारदेखि निर्वाचन परिचालन र व्यवस्थापन टिम नै बालकोटले खटाएपछि एमालेका स्थानीय नेता तथा कार्यकर्ता निराश भएका छन् ।

    मंसिरको निर्वाचनमा चितवन २ बाट कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको एमालेले यसपटक रामप्रसाद न्यौपानेलाई उठाएको छ । न्यौपाने उक्त निर्वाचन क्षेत्रका बासिन्दा होइनन् । तर, त्यहीँका बासिन्दा र अघिल्ला निर्वाचनहरूमा पार्टीको प्रतिवद्ध मतभन्दा बढी मतका साथ निर्वाचन जितेका पोखरेललाई पाखा लगाइँदा उनी पक्षका एमाले कार्यकर्ता चुनावी अभियानमा सरिक भएनन् ।

    जिल्लामै पार्टीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, देवी ज्ञवालीसहितका थुप्रै सिनियर र लोकप्रिय नेता हुँदाहुँदै बालकोटबाट गोकुल बाँस्कोटालाई चुनावी कमाण्डर तोकिएका कारण परिचालन र व्यवस्थापनका काममा समस्या आइरहेको स्रोतले बताएको छ । यसअघि पनि चितवन २ मा एमाले तेस्रो भएको थियो ।

    बारा २ का पुरुषोत्तम पौडेल सबैभन्दा कमजोर उम्मेदवार बनेका छन् । एमाले चुनावी अभियानको सबभन्दा निराशलाग्दो वातावरण बारा २ मा देखिएको छ । त्यसै पनि एमाले कमजोर भएको उक्त क्षेत्रमा एमालेका पूर्वनेताहरू सबै एकीकृत समाजवादीमा छन् । ७० प्रतिशत मधेसी समुदायको बसोबास रहेको सो क्षेत्रमा एमालेले पहाडे समुदायबाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।

    सुरुमा एमालेले ईश्वर पोखरेललाई खटाएर चुनावी माहोल तताउन खोजेको थियो । तर, स्थानीय कार्यकर्ताहरू नै परिचालित नभएपछि पोखरेल काठमाडौं फर्किएको स्रोतले बताएको छ ।

    अहिले त्यहाँ त्यहीँका केही मध्यम तहका नेता मात्रै चुनावी अभियानमा सरिक छन् तनहुँ २ का सर्वेन्द्र खनाल सबैभन्दा विवादास्पद बनेका छन् । काठमाडौं ६ मा लज्जास्पद ढंगले पराजित भएका खनाल तनहुँमा उम्मेदवार बनेकाले पनि एमालेका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

    तनहुँमा बालकोटबाट सिधै तोकिएका पूर्वआइजी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएपछि एमालेका स्थानीय नेता तथा कार्यकर्तामा उत्साह आउन सकेको छैन । अघिल्ला निर्वाचनमा विभाजित हुँदै आएका कांग्रेसका नेताहरू भने यसपटक एकजुट भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १० २०७९०२:२०:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend