काठमाडौं - समिट होटल प्रालिका प्रोजेक्ट म्यानेजर संचित श्रेष्ठले समिट अपार्टमेन्टमा उद्योगपति विनोद चौधरीको नाम जोडेर मिडियामा आएको समाचारप्रति दुःख व्यक्त गरेका छन् ।
उनले दुई दिनदेखि यस विषयमा सांसद विनोद चौधरीको नाम बदनाम हुनेगरी समाचार आइरहनु दुःखलाग्दो भएको बताए । समिट रेसिडेन्सीमा सीजी ग्रुप लगानीकर्ता मात्र रहेको, तर विनोद चौधरीको व्यक्तिगत कुनै संलग्नता नरहेको उनले स्पष्ट पारेका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै उनले कोपुन्डोलको हाइटमा रहेको समिट होटल रहेको स्थानमा समिट रेसिडेन्सीको अवधारणा कार्यान्वयन चरणमा निर्माणास्थलमा शनिबार पूर्वदक्षिणतर्फको केही जमिन भत्किन गई स्थानीयवासीको घरमा क्षति पुगेकोमा उनले यस विषयमा पीडित स्थानीयवासी, जनप्रतिनिधि र निर्माण कम्पनीबीच सहमति भइसकेको उल्लेख गरेका छन् ।
रेसिडेन्सी परियोजनाको नक्सा काठमाडौं उपत्यका विकास प्राधिकरणले हेर्ने भएकाले सोही कार्यालयबाट काम अगाडि बढाइएको श्रेष्ठले बताएका छन् ।
नक्सा र वातावरणीय प्रभाव मूल्यांकनसहितको प्रगति विवरण ललितपुर महानगरपालिकामा पेस गर्न मेयर चिरिबाबु महर्जनलाई जानकारी गराइसकिएको श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, समिट होटल रहेको स्थानमा निर्माण कार्य भइरहँदा छेउका घरहरुमा असर परेपछि सीजीको नाम जोडिएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणीहरु भएको घटनाप्रति सीजी डेभलपर्सले ध्यानाकर्षण भएको जनाएको छ ।

‘होटल समिट प्रालिले विकास गरिरहेको परियोजनासँग सम्बन्धित घटनाक्रममा सीजीको को नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार एवं सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरूप्रति कम्पनीको ध्यानाकर्षण भएको छ,’ सीजी डेभलपर्सले भनेको छ, ‘होटल समिटले विकास गरिरहेको परियोजनामा सीजी एक तिहाईभन्दा कम सेयरका साथ सामान्य साझेदारको भूमिकामा मात्र रहेको र परियोजनाको व्यवस्थापनमा संलग्न नरहेको स्पष्ट पार्न चाहन्छौँ ।’
समिट रेसिडेन्सीका कारण जमिन भासिँदा भएको क्षतिपूर्ति दिन एक करोडको फन्ड स्थापना भइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।