काठमाडौं- गठबन्धन दलको सुझाव नमान्दा कस्तो हविगत भोग्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बनेका छन् । जम्कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने घोषणा गरेका थिए । र, सोहीअनुसार प्रदेशसभाको बैठकको कार्यसूची पनि तय गर्न लगाएका थिए । तर, नेपाली कांग्रेसका सांसदहरू कोही पनि संसदमा उपस्थित नभएपछि उनको सपनामा पानी पोखिएको छ ।
जम्कट्टेल पहिले विश्वासको मत लिने अनि मात्र भागबन्डामा छलफल गर्न चाहन्थे । त्यही भएर कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले दिएको सुझाव पनि उनले सुनेनन् । कांग्रेसले दुई चार दिनपछि विश्वासको मत लिन सुझाएका थिए ।
मुख्यमन्त्रीमा आलोपालोको सहमति नगरेसम्म कांग्रेसले बैठकमा सहभागी नहुने अग्रिम जानकारी गराएको थियो । तर जम्कट्टेलले जबर्जस्ती बैठक राख्न लगाए । त्यसबेला कांग्रेसका सबै सांसद काठमाडौंमै बैठकमै थिए । बैठकले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । मुख्यमन्त्री जम्कट्टेल शुक्रबार विश्वासको मत लिने योजनामा छन् । तर, उनको सपनामा एमाले तगारो बन्ने देखिएको छ ।
एमाले अझै पनि सरकारमै छ । उसका चारजना मन्त्री छन् । कसैले पनि राजीनामा दिएका छैनन् । प्रदेश सभा बैठक बसेकै दिन आफ्ना कुरा राखेर राजीनामा दिने एमाले मन्त्रीहरुको भनाइ छ । तर शुक्रबारका लागि बोलाइएको बैठक सार्न एमाले सांसदहरुले मुख्यमन्त्री जम्कट्टेललाई आग्रह गरिरहेका छन् । किनभने चैत १० र ११ गते एमालेको ‘ग्रासरुट’अभियानको समापन कार्यक्रम हो । जसकारण आफ्ना पार्टीका सांसद प्रदेश सभा बैठकमा सहभागी हुन नसक्ने एमालेले जनाइसकेको छ ।
यदि शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन नसकेमा आइतबार कुर्नुपर्ने हुन्छ । उनले सोमबारसम्म जसरी पनि विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । यदि कांग्रेससँग कुनै सहमति नगरी मुख्यमन्त्री जम्कट्टेल अघि बढेमा उनी मंगलबारसम्म पदमा नरहने अवस्था पनि आउन सक्ने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।